खोला कटानले गर्दा छठ पूजा स्थल वर्षेनि सार्नु परेको स्थानीको दुखेसो


बेलबारी, १३ कार्तिक । लामो समयदेखि छठ पूजाको आयोजना गर्दै आएका बेलबारीका स्थानीयले खोला कटानका कारण निकै झन्झट व्यहोर्नु परेको बताएका छन् । बेलबारीको लोहोन्द्रका किनारमा छठ पूजाको तयारीमा जुटिरहेका उनीहरूले यस्तो बताएका हुन् ।

बेलबारी ३ का प्रमोद पूर्वे बर्सेनी खोला कटानले गर्दा पूजा स्थल व्यवस्थित गर्न नसकेको बताउँछन् । उनी भन्छन् –खोला कटानले गर्दा वर्षेनी स्थान परिवर्तन भइरहन्छ । कहिले यता त कहिले उता गर्नु पर्दा हैरान भइसक्यो ।’ छठ पूजा व्यवस्थापन समितिका सचिवसमेत रहेका स्थानीय श्यामकुमार शाह (गोपी) ०५८ सालदेखि समितिमार्फत पूजालाई व्यवस्थित गर्दै आएको बताउँछन् । परापूर्व कालदेखि मान्दै आएको छठ पूजाको लामो इतिहास रहेको बताउँछन् ।

महाभारत कालमै द्रौपदीले मनाएको मानिने यस पर्व रामले रावणलाई बध गर्न जाँदासमेत खोलामा सूर्यलाई अघ्य चढाएर गएको उल्लेख गरिएको पाइन्छ । छठलाई धर्म संस्कृति र सद्भाव जगाउने सवालमा यस चाडको धेरै महत्त्व रहेको पाइन्छ । सुरुमा आएर खोलामा आफूहरूले पूजा गर्न तयारी गर्दा मानिस अचम्म मान्ने गरेको तर यतिखेर भने सबै जना भेला भएर पूजा गर्ने गरेको बताउँछन् ।

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हरि नारायणप्रसाद कलबार पूजाको व्यवस्थापनमा तटबन्दनको समस्याले गर्दा आफूहरू पीडित रहेको बताउँछन् । जसले गर्दा खर्च व्यवस्थापनमा समस्या रहेको उनको भनाइ रहेको छ । उनी पूजाका लागि एउटा व्यवस्थित संरचनाको खाँचो रहेको बताउँछन् । छटी माताले सबैको मनोकामना पूरा गरिदिने जनविश्वास रहिआएको छ ।

देवीले सबैको रक्षा गर्ने भएकोले यसमा जात र धर्मले नछेक्ने स्थानीय शीतल रायको विचार रहेको छ । उनी सबैलाई पूजामा आएर प्रसाद ग्रहण गर्न पनि आग्रह गर्दछिन् ।

प्रतिक्रिया दिनुहोस्