अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा परिचित हुँदै बेलबारी गाेल्डकप


मोरङ, १५ कार्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आज देखि हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता २३ गतेसम्म हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले नगद रु.८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउने आयोजकले बताएको छ ।

प्रतियोगिताको बारेमा आयोजक तथा सरोकारवालाहरूको भनाइ यस प्रकार रहेको छ ।

दिलप्रसाद राई (नगर प्रमुख, बेलबारी नगरपालिका)

बेलबारी नगरपालिकाको वडा न.११ मा अन्तर्राष्ट्रिय स्तरको पाँचौँ संस्करणको गाेल्डकप प्रतियोगिता हुनु सकारात्मक पक्ष हो। यो हाम्रो नगरको मात्र नभएर पूर्वी नेपालकै ठुलो प्रतियोगिता हो ।यसमा बेलबारी नगरपालिका मुख्य सहयोगी संस्थाको रूपमा रहेको छ । प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीहरूलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुर्‍याएको छ ।

तेरो र मेरो भन्दा पनि यो फुटबल प्रतियोगिता हामी सबैको गौरवको विषय हो । त्यसैले आफूले सक्ने ठाउँबाट सबैले सहयोग गरौँ भन्न चाहन्छु । मोफसलबाट सुरु भएर अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेल क्षेत्र लगायत सामाजिक र आर्थिक विकासमा समेत टेवा पुर्‍याएको छ । यसको महत्त्व र गरीमालाई बुझेर सबैको साथ सहयोगबाट अघि बढ्न जरुरी छ ।

मोरङ जिल्लाको तत्कालीन डाँगीहाट गाउँ विकास समिति वडा नम्बर ५ लक्ष्मीमार्ग (हाल बेलबारी ११) मा रहेको डाँगीहाट यूथ क्लबले निरन्तर रूपमा ५ औ संस्करण सम्म माेफसलमा रहेर अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्नु सामान्य कुरा हाेइन् । यसले प्रयास गर्दा जटिल काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ । बेलबारीको यो ५ औ संस्करणको फुटबल सफलता पूर्वक सम्पन्न होस शुभकामना छ ।

बिक्रम बान्तवा राई (अध्यक्ष डाँगीहाट यूथ क्लब, बेलबारी ११)

डाँगीहाट यूथ क्लब द्वारा आयोजित ५ औँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपकाे सम्पूर्ण आवश्यक तयारी पूरा भएको छ । बेलबारीको यो अन्तर्राष्ट्रिय स्तरको फुटबललाई ५ औ संस्करण सम्म ल्याउँदा धेरै दुःख र सङ्घर्ष गरिएको छ । प्रतियोगिता कात्तिक १५ देखि २३ गते सम्म हुनेछ।

बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन पाँचौँ बेलबारी गोल्डकप प्रतियोगिता सफल हुनेछ भन्ने विश्वास तथा भरोसामा छु । यहाँ पहिले भन्दा अहिले फुटबलको माहाेल स्थानीयले अझै राम्रो बुझ्नु भएको छ ।

फुटबलका लागि स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि साथ सहयोग राम्रो मिलेको छ । यस पटकको फुटबल प्रतियोगितामा विजेताको पुरस्कार राशि समेत ५ लाख बाट बढाएर ८ लाख प्रदान गरिने घोषणा गरिएको छ ।

यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हो । यसले बेलबारीलाई मात्र नभएर पूर्वी नेपाललाई नै फुटबलको माध्यमबाट परिचित बनाएको छ । यसलाई निरन्तर रूपमा अघि बढाउन पाउँदा खुसी लागेको छ । बेलबारीको नाम र कामलाई परिचित गराउन यो प्रतियोगिताले मद्दत पुर्‍याएको विश्वास गरेको छु ।

भाईकुमार गुरुङ (खेल संयोजक )

डाँगीहाट यूथ क्लबद्वारा आयोजित बेलबारी गोल्डकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको छ । गोल्डकप सभ्य र भव्य हुनेछ भन्ने विश्वास लिएको छु । विगत वर्षमा ८ वटा टिमले सहभागिता जनाएका थिए ।

यस पटकको प्रतियोगितामा १० वटा राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमा टिमहरूगत वर्षको विजेता टिम सशस्त्र प्रहरी बल सहित रोलिङ एफ सी झापा, पेम्बा यूथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता रहने छ ।

विगत भन्दा यस पटक राम्रो खेल हुनेछ भन्ने विश्वास लिएको छु। प्रतियोगिताको राम्रो तयारी समेत गरिएको छ । यस पटकको ५ औ संस्करणको फुटबललाई सफल बनाउन सबै जना आएर, हेरेर सहभागी भएर सफल बनाइ दिनु होला भन्न चाहन्छु । यो हामी सबैको प्रतियोगिता हो ।

राजेश बस्नेत (आर्थिक संयोजक)

५ औ बेलबारी गाेल्डकप प्रतियोगिता बेलबारी ११ को लक्ष्मीमार्ग रङ्गशालामा हुँदै छ। `स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ´भन्ने नाराका साथमा हुने प्रतियोगितामा ५२ लाख खर्च र ६० लाख आम्दानी हुने लक्ष्य तथा अनुमान गरिएको छ । मैले प्रतियोगितामा आर्थिक संयोजक भएर विगत वर्ष देखि नै काम गरेको हो ।

सङ्घसंस्था सर्वसाधारण लगायतको सहयोगबाट प्रतियोगिता सफल बनाउँदै आएका छौ । गाेल्डकपकाे लागि यस पटकको साथ सहयोग समेत सकारात्मक छ ।प्रतियोगिताको मुख्य प्रायोजक बुद्ध एअर रहेको छ । मुख्य सहयोगी बेलबारी नपा तथा प्रायोजक टुवाेर्क बियर छ । ५ औ फुटबल प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले २५ लाख नगद दिने घोषणा गरेका कारण पुरस्कार राशि समेत यस पटक वृद्धि गरेका छौ। क्लबहरूको सहभागिता समेत उल्लेख रूपमा रहेको छ ।

उद्योगी, व्यवसायी र देश विदेशका दाताहरूको माध्यमबाट समेत रकम सङ्कलन गरी ५ औ बेलबारी गाेल्डकपलाई सफल बनाउने विश्वास दिलाउन चाहन्छौ । चाडपर्वको कारणले आर्थिक सङ्कलन राम्रो गर्न नसके पनि त्यसलाई सुधार गरेर लानेछौ। प्रतियोगिताको हिसाब किताब पनि सके सम्म छिटोछरितो रूपमा पारदर्शी किसिमले सार्वजनिक गर्नेछौ भन्न चाहन्छु ।

नरेन्द्र बस्नेत (सञ्चारकर्मी तथा प्रतियोगिता प्रचारप्रसार संयोजक)

५ औ बेलबारी गाेल्डकपकाे आयोजक डाँगीहाट यूथ क्लब दर्ता भएको ९ वर्ष पूरा भएको छ । यस बिचमा क्लबले पाँचौँ संस्करण सम्म फुटबल प्रतियोगिताका रूपमा गोल्डकप सञ्चालन गर्न सफल भएको छ । खेलकुदका अलावा,मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम,खेलकुद महोत्सव लगायत जनचेतनामूलक गतिविधिमा समेत क्लब सक्रिय रहेको छ ।

यस क्षेत्रको ब्रान्डको रूपमा स्थापित भइसकेको बेलबारी गोल्डकपको संस्करण मोफसल देखि अन्तर्राष्ट्रिय स्तर सम्म परिचित छ । यो फुटबल प्रतियोगिताले यस क्षेत्रको खेलकुदको विकास,नयाँ खेलाडीहरूलाई अवसर,प्रोत्साहन लगायत यही क्षेत्रमा लागेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने बलियो आधार समेत निर्माण भएको छ ।गोल्डकपका कारण लक्ष्मीमार्ग र बेलबारीलाई देश तथा विदेशमा चिनाएको छ । यस क्षेत्रको व्यापार व्यवसायको वृद्धि हुनुका साथै समग्र क्षेत्रको विकासमा समेत गोल्डकप कोशेढुंगा साबित भएको छ ।

कोरोनाका कारण २ वर्ष गोल्डकप आयोजना हुन सेक्न । अरू वर्ष नियमित गोल्डकप आयोजना हुँदै आएको छ । गोल्डकपलाई देश तथा विदेशमा रहनुभएका यस क्षेत्रका महानुभावहरूको अत्यन्तै ठुलो सहयोग रहेको छ । एउटा नयाँ इतिहास निर्माण गर्दै पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको पाँचौँ संस्करण थप रोचक हुनेछ । पाँचौँ गोल्डकपमा पोखराको साहारा फुटबल क्लब पहिलो पटक पूर्व क्षेत्रमा आयोजना हुने प्रतियोगितामा सहभागी हुँदै छ ।

भारतका २ वटा टिम समेत यस पटक थपिएका छन् । मोफसलमा अन्तर्राष्ट्रिय स्तरको गोल्डकप गर्नु आफैमा चुनौतीपूर्ण छ । त्यसमा पनि पाँचौँ संस्करणसम्म आई पुग्नु चानचुने कुरा होइन । ए डिभिजनका क्लबहरू सहभागी हुने प्रतियोगिताले बेलबारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत परिचित गराएको छ । यो हामी सबै बेलबारीवासीहरूको गौरवको विषय हो भन्न चाहन्छु ।

प्रस्तुति : मणिराम दाहाल / सुन्दरहरैँचा

प्रतिक्रिया दिनुहोस्