बेलबारी पाँचौँ अन्तर्राष्ट्रिय गोल्डकप सुरु : उद्घाटन खेलमा रोलिङ क्लब धुलाबारी विजयी


मणिराम दाहाल – मोरङ, १५ कार्तिक । सुन्दरहरैँचा पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको उद्घाटन खेलमा विराटनगरको पेम्बा यूथ क्लबलाई १-० गोलको अन्तरले पछि पार्दै रोलिङ क्लब धुलाबारी, झापाले विजयी सुरुवात गरेको छ । मोरङको बेलबारी ११ स्थित लक्ष्मी माविको खेल मैदानमा मङ्गलवार भएको प्रतियोगितामा मोरङलाई पछि पार्दै झापा क्वाटरफाइनलमा प्रवेश गरेको हो।

झापाको कठिन जितमा जर्सी न. ९ का खेलाडी रेजिन सुब्बाको गोल निर्णायक बन्यो । कडा प्रतिस्पर्धा पूर्ण खेलेको ५० औँ मिनेटमा जाली चुमाउँदै सुब्बाले टिमको जित निश्चित गराएका थिए । जवाफी गोल फर्काउन नसक्दा विराटनगर पहिलो उद्घाटन खेलबाटै बाहिरिएको छ ।

मध्यान्तरपछि सुधारिएको प्रदर्शन झापाले आफ्नो पक्षमा नजिता निकाल्न सफल भएको थियो । राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टिमको रोचक प्रतिस्पर्धामा झापाले विराटनगरलाई खेल अवधि भरि कडा दवाफमा राखेको थियो । विराटनगरले धेरै पटक गोल लगाउने सुनौलो अवसर पाए पनि खेलाडी बिचको उपयुक्त तालमेल नमिल्दा क्वाटरफाइनलकाे अवसरबाट पछि परेको हो ।

खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक जर्सी न. १ का दीप कार्की घोषित भए। उनले नगद रु.५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता रहेको छ ।

विराटनगर र झापा बाहेक प्रतियोगितामा आयोजक डाँगीहाट यूथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस यूथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी रहेका छन् । प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले उचालेको थियो। प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजकले बताएको छ ।

गोल्डकपको पुरस्कार राशि यस वर्षदेखि बढाइएको डाँगीहाट यूथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम बान्तवा राईले बताए ।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको राईले उल्लेख गरे। प्रतियोगिताको उद्घाटन खेल बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए ।

रोलिङ क्लब धुलाबारी

`स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ´भन्ने नाराका साथमा भएको प्रतियोगितामा ५२ लाख खर्च र ६० लाख आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले जानकारी दिए । खेलको मुख्य प्रायोजक बुद्ध एयर तथा सहयोगी संस्था बेलबारी नगरपालिका साथै प्रायोजक दुवर्ग बियर रहेको आयोजकले बताएको छ ।

बुधवारको खेलमा भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस यूथ क्लबबिच प्रतिस्पर्धा हुने गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।

पेम्बा यूथ क्लब
प्रतिक्रिया दिनुहोस्