निर्वाचन बहिष्कारको पर्चा टाँस्दै हिँडे कान्तिकारी माओवादीका दुई जना कार्यकर्ता पक्राउ


बेलबारी, १६ कार्तिक । निर्वाचन बहिस्कारको पर्चा टाँस्दै हिँडेका नेकपा कान्तिकारी माओवादीका कार्यकर्तालाई बेलबारी प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । ‘सङ्घीय जनगणतन्त्रको तयारी गरौँ, आसन्न संसदीय निर्वाचन बहिस्कार गरौँ’ भन्ने पर्चा टाँस्दै गरेका नेकपा क्रान्तिकारी माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको हो ।

निर्वाचनलाई बिथोल्ने कार्य भइरहेको सूचना पाउन साथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नेकपा कान्तिकारी माओवादीका जिल्ला इन्चार्ज विमल निरौला र अखिल कान्तिकारीका केन्द्रीय सचिव महेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आफ्ना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको खबर पाउन साथ प्रदेश इन्चार्ज दिनेश शर्माको नेतृत्वमा एक दर्जन जति नेता तथा कार्यकर्ता इलाका प्रहरी कार्यालयमा पुगेको थिए । नेकपा कान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी सीताराम बुढाथोकीले शान्ति सुरक्षामा खलल पुर्‍याउने आफूहरूको उद्देश्य नरहेको, पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जनतालाई जागरूक गराउने काम मात्र गरेको भनेपछि प्रहरीले नियन्त्रणमा लिएका कार्यकर्तालाई छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्