प्रदेश १ का मन्त्री तथा मोरङ क्षेत्र ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार शेखरचन्द्र थापाको निधन


मोरङ, २३ कार्तिक । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री तथा नेपाली काङ्ग्रेसबाट मोरङ क्षेत्र ३ (१) प्रदेशसभा सदस्य पदका उम्मेदवारसमेत रहेका शेखरचन्द्र थापाको निधन भएको छ । मोरङको विराटनगरमा नोबेल अस्पतालमा उपचारको क्रममा रहेका थापाको निधन आज बिहान १०ः३० बजे निधन भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले थापाको निधन भएको जानकारी दिएका हुन । असोज २३ गते उम्मेदवारी दर्ता गराएसँगै बिरामी भएका थापा २४ गते उपचारको लागि नोबेल भर्ना भएका थिए । नोबेलमा उपचार सम्भव नभए पछि थापालाई २७ गते हेलिकप्टरबाट काठमाडौँको एम्स अस्पताल लगिएको थियो ।

थापालाई करिब एम्समा १७ दिन आइसियुमा राखिएको थियो । थप ५ दिन वार्डमा राखेर उपचार गरे पछि विराटनगर फर्काएर अक्सिजनको सहयोगमा उपचार निरन्तर गरिएको थियो । थापा अक्सिजन बिना श्वास पर्न सक्ने अवस्थामा थिएनन् ।

थापा २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन्ट भएर काम पनि गरेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एमाले नेता चण्डी राईसँग मोरङको सोही क्षेत्रमा पराजित भएका थिए । २०७४ सालमा भने प्रदेशसभामा समानुपातिकमा परेका थापा यस पटक प्रत्यक्ष उम्मेदवार बनेका थिए । यस पटक थापा गठबन्धनको साझा उम्मेदवार थिए भने उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका दिलीप राई हुन ।

प्रतिक्रिया दिनुहोस्