एकता बचत तथा ऋण सहकारी संस्थाको ९ औँ अधिवेशनको उद्घाटन समारोह सम्पन्न : निर्वाचन २६ गते


बेलबारी, २४ कार्तिक । बेलबारीको एकता बचत तथा ऋण सहकारी संस्थाको २८ औँ साधारण सभा तथा ९ औँ अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । कार्यक्रम बेलबारी नगरपालिका वडा नं.२ स्थित तमु बौद्धिष्ट गुम्बाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन नगर उपप्रमुख नितु थापाले पानसमा दीप प्रज्वलन गरेर गरेकी थिइन । दुई दशक भन्दा लामो यात्रा गरिसकेको महिलाहरूद्वारा सञ्चालन गरेको एक मात्र सहकारी संस्था भएकोले उपप्रमुख थापाले एकता बचत तथा ऋण सहकारी संस्थाको खुलेर प्रशंसा गरिन । नगरपालिकाको आवश्यक सहयोग सधैँ रहने थापाले बताइन ।

संस्थामा महिला ५७१ र पुरुष ६७ गरी जम्मा ६३८ जना सदस्य संख्या रहेको छ । संस्थाको कुल पुजी रु.३ करोड भन्दा बढी भइसकेको छ । खुल्ला पत्रमा प्रस्तुत प्रतिवेदन अनुसार ऋण लगानी नै रु.३ करोड १ लाख ९७ हजार ९ सय ४५ रुपैयाँ रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष उषा तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भने सचिव तिर्सना राईले गरेकी थिइन ।

महिला सशक्तीकरण तथा आत्मनिर्भर उद्देश्यमा नै अभिप्रेरित एकता बचत तथा ऋण सहकारी संस्थाको स्थापना २०५२ सालमा भएको हो । संस्थाले २७ वर्ष लामो यात्रा पार गरिसकेको छ । संस्थाको सम्पन्न ८ औँ अधिवेशन सम्म सहमतिमा सर्वसम्मतमा कार्यसमितिको निर्माण भएको थियो । तर ९ औँ अधिवेशनमा भने निर्वाचन नै हुने भएको छ ।

सोही दिन सुरु भएको बन्द सत्रमा अध्यक्ष र उपाध्यक्षमा भने निर्वाचन भएको छ । उषा तामाङ पुनः दोहोराउने चाहाना राखेकी छिन भने संस्थापक सदस्य मिनु राईले पनि उम्मेदवारी दिएकी छिन । केही सुधार गर्नु पर्ने पक्ष रहेकोले, संस्थाको विकासको लागि मिनु राईले नेतृत्व गर्न चाहेकी उनले बताइन ।

उपाध्यक्षमा संकुन्तला सुवेदी र राधा लिम्बु प्रतिस्पर्धामा छिन । सुवेदी संस्थापक अध्यक्ष हुन । संस्थापक अध्यक्ष भएर एक कार्यकाल सम्पन्न भए पछि पुनः सहसचिव भएर दुई कार्यकाल जिम्मेवारीमा सुवेदी बसेकी थिइन । अहिले सहसचिवदेखि उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन ।

संस्थापक सदस्य राई, अध्यक्ष हुन्छिन् की उषाले फेरी नेतृत्व गर्ने अवसर पाउँछिन् र संस्थापक अध्यक्ष हुँदै दुई कार्यकाल सहसचिव भएर उपाध्यक्ष बन्ने इच्छा राखेकी सुवेदी र राधा लिम्बु निर्वाचित हुन्छिन्, त्यो भने २६ गते निर्णय हुने छ ।

कार्तिक २६ गते निर्वाचन हुने घोषण भएको छ । सचिवमा चन्द्र कुमारी लिम्बु, सहसचिवमा होमबहादुर श्रेष्ठ, कोषाध्यक्ष सिता सुवेदी साथै सदस्यहरूमा निर्विरोध चयन भएका छन् । सुवेदी संस्थाको साधारण सदस्य मात्र भएकी र सञ्चालक समितिको सदस्य पनि एकै पटक नभएकी हुँदा कोषाध्यक्षमा भने केही प्रश्न आएको थियो ।

तर विधानमा सञ्चालक समितिको सदस्य भएर मात्र पदाधिकारी हुनु पाउने भन्ने व्यवस्थाबारे केही उल्लेख नभएको र साधारण सदस्य नै सञ्चालक समितिमा रहने मात्र उल्लेख भएको हुँदा साथै उनको मात्र एकल उम्मेदवार भएको कारण सुवेदी निर्विरोध भएकी, निर्वाचन मण्डलका अध्यक्ष विष्णु ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्