बेलबारीका डबलखान ठकुरीको घरमा आगलागी : ४ करोड भन्दा बढीको क्षति


मोरङ, २५ कार्तिक । बेलबारी नगरपालिका वडा नं.१ का डबलखान ठकुरीको घरमा आगलागी भएको छ । बिहीबार मध्य रातमा आगलागीले भएको हो ।

डबलखानको सोही घरमा शुभलक्ष्मी हार्डवेर एण्ड सेनेटरीवेयर पसल थियो । उनका अनुसार करिब ४ करोड भन्दा बढीको आर्थिक क्षति भएको छ । घरको अवस्था हेर्दा ३ तला सम्म पूर्ण रूपमा आगोले क्षति गरेको छ ।

करिब १:३० बजे आगलागी भएको डबलखान बताउँछन् । आगो अनियन्त्रित अवस्थामा फैली सकेको बेला मात्र थाहा पाएको उनले बताए । ३ तालामा पुगेर झ्यालको सिसा फुटाएर छिमेकीको टाँसिएको घरमा निस्केर मात्र बाच्न सफल भएको डबलखानले बताउँछन् ।

बच्ने क्रममा उनको हातमा चोट परेको छ भने बुहारी मुर्छा परेर छोराले बचाएर निकाल्दा हात जलेको डबलखान बताउँछन् । अहिले बुहारीको उपचार विराटनगरको नोबेल अस्पतालमा भइरहेको उनले बताए ।

डबलखान भन्छन्, ‘बचेर निस्किने क्रममा लगाएको लुगा बाहेक सबै जलो । बेलबारी, सुन्दरहरैचा, पथरी, इटहरी लगायतको पालिकाबाट आएको दमकलले करिब ४ घण्टा लगाएर मात्र आगो नियन्त्रण गर्न सफल हो । अहिले लगाएको ज्याकेट पनि छिमेकीको हो ।’

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तर विद्युत्को कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । आगलागीमा पसलको सबै सामान पूर्ण रूपमा जलेको छ । दोस्रो र तेस्रो तलामा रहेको घरायसी कुनै पनि सामाग्री प्रयोग गर्न सक्ने अवस्थाको छैन ।

प्रतिक्रिया दिनुहोस्