नेपाल र पाकिस्तानबिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै


काठमाडौं, २९ कार्तिक । नेपाल र पाकिस्तानबिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल हुँदै छ । उक्त खेल बुधवार साँझ ५ बजेदेखि हुँदै छ ।

पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए । मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए ।

नेपाल र पाकिस्तानबिच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । यसै गरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भएता पनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे । पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्