नेपालगन्जमा बम बनाउने क्रममा कोठामै विष्फोट


नेपालगन्ज, १ मंसिर । नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

बम विष्फोटमा घाइतेको भेरी अस्पतालमा उपचार हुँदै छ । उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसरकुकर बम विष्फोट भएको थियो । सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विष्फोट नभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताहरूले बम बनाइरहेका थिए । प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्