मोरङ क्षेत्र नं.३ (१) का उम्मेदवार दिलीप कुमार राईको अपिल (पूर्ण पाठसहित)


मोरङ, १ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन मात्र ३ दिन बाकी रहेको छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचन केन्द्रित रहेर नेकपा (एमाले) १ नं. प्रदेश कमिटी सदस्य, पथरी शनिश्चरे नगरपालिका का निवर्तमान प्रमुख, साथै मोरङ क्षेत्र नं.३ (१) का उम्मेदवार दिलीप कुमार राईले क्षेत्र नं.३ का सम्पूर्ण मतदातालाई सूर्यमा मतदान गर्न अपिल गरेका छन् ।

(पूर्ण पाठ)

दिलीप कुमार राईको अपिल

मोरङ क्षेत्र नं. ३ को प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत बसोबास गर्नुहुने आदरणीय मतदाता महानुभावहरू, संघीयसभा र प्रदेशसभा निर्माणका लागि आयोजना हुन लागेको निर्वाचन मंसिर ४ गते नजिकिइरहेको छ । निर्वाचनका लागि हाम्रो पार्टी नेकपा (एमाले) ले यस क्षेत्रमा मलाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

प्रदेशसभा उम्मेदवारका हिसाबले यसबिचमा तपाई सम्पूर्ण मतदातासमक्ष पुग्न र भेट्न सकिनँ होला ! यद्यपि, म तपाई सम्पूर्ण मतदातासमक्ष चिरपरिचित राजनीतिक कार्यकर्ता पनि हो । निर्वाचन र यसको परिणाममार्फत देशको राजनीति ध्रुवीकृत हुने भएको छ । देशको बृहत् कम्युनिष्ट एवम् बामप्रजातान्त्रिक आन्दोलनको नेतृत्व हाम्रो पार्टी नेकपा एमालेले गर्दै छ भने नवउदरवादी पूजीवाद प्रतिगमनकारी शक्तिको नेतृत्व नेपाली काँग्रेस र यसका सभापति शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ ।

केही कम्युनिष्ट नाउँधारी शक्तिहरू यसका मतियार बन्दै छन् । यसतर्फ पनि हामी सचेत र सजग बन्न आवश्यक छ । विगतमा पथरी शनिश्चरे नगरपालिकाको नगरप्रमुखको रूपमा रहेर काम गर्दा तपाई अधिकांशले मलाई राम्रोसँग बुझ्नुभएको छ, जान्नुभएको छ र आफ्नो अत्यन्तै निकटको साथी र सहयात्रीको रूपमा ग्रहण गर्नुभएको छ भन्ने ठानेको छु ।

यसबिचमा पालिका–पालिकाबिचको सहकार्यले गर्दा कानेपोखरी, बेलबारीलगायतका पालिकावासी मतदाताहरूले पनि मलाई राम्रोसँग जान्नुहुन्छ होला जस्तो लाग्छ । वास्तवमा यो जग टेकेर म यो अविराम यात्राको सहयात्री बनेर सधैँभरि उभिएको छु । म पूर्णतः राजनीतिक कार्यकर्ता । राजनीतिलाई विषयगत पेसा र व्यापार–व्यवसायको रूपमा कहिल्यै बुझिनँ । जीवनको बाल्यकालीन अवस्थादेखि नै कम्युनिष्ट आन्दोलनप्रति आकर्षित र पूर्णकालीन कार्यकर्ताको रूपमा विद्यार्थी सङ्गठनको विभिन्न जिम्मेवारी निर्वाह गर्ने पार्टी सङ्गठनात्मक क्षेत्रमा सङ्गठित रहने क्रममा तपाई सबैले पटक-पटक मलाई प्रदान गर्नुभएको मायाममता र स्नेहप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

जीवनका कैयौँ सुख–दुःखका क्षणमा तपाईँबाट पाएको सहयोगले मलाई हौसला बढाएकोप्रति गर्व गर्दछु । तपाई मतदाताको विश्वास र सामाजिक सेवामूलक कामको क्षेत्रबाट ज्ञान र अनुभव आर्जन गर्दै अघि बढ्ने क्रममा आफूलाई एउटा जनसेवक र सिपाहीको रूपमा उभ्याउनुलाई अवसर ठानेको छु । यसका लागि समाजको विभिन्न जिम्मेवारी, तह र तप्काका बालक, युवा र बृद्धबृद्धा सबैप्रति आभार प्रकट गर्दछु ।

यहाँको पूर्वाधार विकास र निर्माणको क्षेत्रमा यसको अगुवाइ गर्न पाउँदा खुशी व्यक्त गर्दै आउँदा दिनमा पार्टीले घोषणापत्रमार्फत अघि सारेका कामको नेतृत्व गर्ने क्रममा इमानदार ढङ्गले लाग्ने र खट्ने कुराको म दृढ सङ्कल्प गर्दछु । फेरि पनि यही सङ्कल्प दोहोराउँदै हाम्रो सुन्दर र समुन्नत प्रदेश सरकार निर्माणको प्रक्रियामा प्रदेशसभा सदस्यको रूपमा काम गर्ने अवसर दिनुहुने छ, मलगायत सूर्य ध्वाजाबाहक उम्मेदवारको रूपमा मोरङ ३ नम्बर क्षेत्रको संघीय सांसदको रूपमा नेता भानुभक्त ढकाललाई अत्यधिक मतले विजयी गराउनुहुने विश्वास सूर्यमा मतदान गर्नुहुन सम्पूर्ण मतदातासमक्ष हार्दिक अनुरोध गर्दछु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्