‘निर्वाचनमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ, निर्धक्क भएर मतदानमा भाग लिनुहोस्’ : प्रजिअ दाहाल


मोरङ, २ मङ्सिर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शान्तिसुरक्षाको राम्रो व्यवस्था गरिएकोले निर्धक्क भएर मतदानमा भाग लिन अनुरोध गरेका छन् । मोरङ जिल्लाका उत्तरी भेगका निर्वाचन केन्द्रहरूको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले यस्तो प्रतिक्रिया दिएका छन् ।

प्रजिअ दाहालले प्रतिनिधि सभाका ६ ओटा र प्रदेश सभाका १२ ओटा निर्वाचन क्षेत्र भएको यस जिल्लामा ८ सय ४१ ओटा मतदान केन्द्रमा ७ हजार ४ सयको हाराहारीमा सुरक्षाकर्मीहरू परिचालित हुने पनि बताएका छन् । जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका दाहालले सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले निर्धक्क भएर मतदानमा भागलिन मतदाताहरूसँग आग्रहसमेत गरेका छन् ।

तीन ओटै सुरक्षा निकायका प्रमुख सम्मिलित टोलीले मोरङ जिल्लाका पहाडी क्षेत्रमा रहेका बराङ्गी, केराबारी र बाटामा पर्ने बेलबारी लगायतका क्षेत्रको निरीक्षण गरेका थिए । उक्त टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह, नेपाली सेनाका प्रमुख अमृत थापा मगर, नेपाल प्रहरीका शान्तिराम कोइराला, सशस्त्र प्रहरी बलका राजकुमार लामिछानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्