कलाकार मञ्जुल मितेरी र कौसीला राई बेलबारीमा सम्मानित


बेलबारी, ७ मङ्सिर । कलाकार मञ्जुल मितेरी र कौसीला राई बेलबारीमा सम्मानित भएका छन् । बेलबारी ३ मा रहेको तमु बुद्धिष्ट गुम्बाको सभाहलमा आयोजित एक कार्यक्रममा कलाकार मञ्जुल मितेरी र कौसीला राईलाई सम्मान गरिएको हो ।

बेलबारीमा रहेका साहित्यिक तथा सांस्कृतिक सङ्घ- संस्था तथा बौद्ध धर्मावलम्बीहरूका सक्रियतामा आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले मितेरीलाई सम्मान गरेका थिए । त्यस्तै सोही कार्यक्रममा उनकी धर्मपत्नी कौसीला राईलाई समेत सम्मान गरिएको थियो । स्रष्टासमेत रहेको मञ्जुलले एक हजार व्यक्तित्वको प्रतिमा बनाउने उद्देश्यका साथ अघि बढेका छन् ।

यस अघि नै उनले १ सय ८० मूर्तिहरू निर्माण गरिसकेका छन् । मूर्तिकला प्रदर्शनीसमेत सम्पन्न गरिसकेका उनी विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् । मितेरीको नेतृत्वमा जापानमा ६० फिट अग्लो र २०० फुट चौडाइ रहेको बुद्धको आकृति कुद्ने कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा हर्कमान तामाङ बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइराला, बेलबारीका लेखक तथा स्रष्टाहरू, चूडामणि गिरी, ईरान राई, तिला लेकाली, धनजीत पराजुली, रेखा सुवेदी, गोविन्द चाेङबाङ, कलाकारहरू शिव छाङ्छा राई, गणेश लामा ‘आशु’लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्मानित मञ्जुल तथा उनकी पत्नी कौसीलाले आफ्नो अनुभव बाँडेका थिए । मञ्जुलको हालसालै प्रकाशित ‘कामी’ कविता सङ्ग्रहले निकै चर्चा कमाउन सफल भएको छ । सांस्कृतिक अभियन्ता रविन गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन भने कलाकार जेबी थुलुङकाे रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्