फेवा स्कुलको २७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न


केराबारी, १५ मङ्सिर । फेवा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको २७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बुधवार केराबारी गाउँपालिका वडा नं.१० को फेवा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको २७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह स्कुलका अध्यक्ष रमेश लिम्बु अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा खदम क्याम्पस केराबारीका प्रमुख टेकबहादुर थपलियाले फेवा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको बताउँदै प्रशंसा गरे । कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

अभिभावक दिवसको अवसरमा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थी, सर्वोत्कृष्ट एसइई उत्तीर्ण ,कक्षागत प्रथम दोस्रो र दोस्रो सहित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भई विजयी हुने विद्यार्थीहरूलाई कार्यक्रमका विशिष्ट अतिथि प्रमुख अतिथिले पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले वैदेशिक रोजगार पिडा र पारिवारिक समस्याको विषयमा नाटक प्रस्तुत गर्नुका साथै विज्ञान प्रदर्शनी गरेका थिए । विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्यकला प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा केराबारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरे, केराबारी वडा नं. १० का अध्यक्ष पूर्णबहादुर मगर, केयु एकेडेमीका प्रधानाध्यापक समीर सुवेदी, मच्छिन्द्र मा.विका पूर्व प्रअ झलक प्रसाद पौडेल, स्कुल अफ सोसाइटीको प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन हेम सुवेदी र अन्तिम राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्