बेलबारीमा बैङ्क तथा व्यवसायीसँग अन्तरक्रिया : गुनासै गुनासा


बेलबारी । बेलबारी नगरपालिकाको पहलमा नगरभरिका बैङ्क, व्यवसायी तथा उद्योग वाणिज्य सङ्घसँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रम उद्योग वाणिज्य सङ्घको आग्रहमा नगरपालिकाले आयोजना गरेको थियो ।

नगरप्रमुख दिलप्रसाद राईले सबैलाई आ–आफ्ना समस्या राख्न आग्रह गरेपश्चात् बोल्ने अधिकांश सहभागीले आफूले भोगेका समस्या राखेका थिए । उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधवराज थापाले व्यक्तिगत परिचयका आधारमा ऋण प्रवाह हुने गरेको, व्यवसायीको समस्यालाई बैङ्कले नजरअन्दाज गरेको गुनासो व्यक्त गरेका थिए । उनले व्यवसायीहरू आर्थिक सङ्कटमा पर्दा बैङ्कहरू भने नाफामा गएको भन्दै यो कसरी सम्भव हुन सक्छन् भनेर प्रतिप्रश्न गरेका थिए ।

बेलबारी उद्योग वाणिज्य सङ्घका कार्यभार अध्यक्ष राजेश जङ्ग कार्कीले बैङ्क तथा वित्तीय संस्थाहरूलाई व्यवसायीको मार्कालाई बुझेर अगाडि बढ्न आग्रह गरे । व्यवसायी रहँदा मात्र बैङ्क तथा वित्तीय संस्था रहने हुँदा नाफा मात्र नहेरे बैङ्कले व्यवसायीलाई संरक्षण गर्नु पर्नेमा त्यसो हुन नसकेको आरोप लगाए । उनले भने ‘बैङ्कहरूले आफ्नो नाफा मात्र हेरेर व्यवसायीको मार्कालाई नहेर्ने हो भने बैङ्क तथा वित्तीय संस्था कसरी सञ्चालन हुन्छन् ?’ बैङ्कले व्यवसायलाई प्रवर्धन गर्न सहयोग पुग्ने नीति ल्याउनु पर्ने उनको भनाइ रहेको छ । राज्यको नीति र बैङ्कको नीति नमिल्ला केही असहज पैदा भएको बोल्ने बत्ताहरूको बुझाइ रहेको छ ।

बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनका सञ्चालकले विजय सुवेदीले आर्थिक मन्दीले व्यवसाय प्रवर्धन गर्नै कठिन भइरहेको बेलामा सञ्चालन गर्नलाई नै थप ऋण लिनु पर्ने अवस्था आएको बताए । व्यवसायीले बाँच्न पाउनु पर्ने उनको माग रहेको छ । अर्का व्यवसायीले गुनासो गर्दै भने ‘३०–३५ हजार व्याज तिर्दै गरेकोमा हाल आएर ५०–५५ व्याज तिर्नु परेको छ । ऋण तिर्न त परै जाओस् व्याज तिर्न पनि कठिन भइरहेको छ ।’ उनले बैङ्कले सेवा शुल्क ०.५ लिने गरेकोमा गुनासोसमेत व्यक्त गरे ।

सुनचाँदी व्यवसायीको पनि उस्तै गुनासो रहेको छ । सुनचाँदी लगाइएको सेवा शुल्क हटाइनु पर्ने उनीहरूको माग रहेको छ । व्यापारीलाई थाहा नदिई ब्याजदर बढाएको, बैङ्कले व्यवसायीहरूमा समान व्यवहार नगरको उनीहरूको गुनासो रहेको छ । उता बैङ्कका प्रतिनिधिले भने राज्यको नीति मान्नु पर्दा यस्तो समस्या देखिएको हो । वर्तमान समस्या शाखाको तहबाट हल हुन नसक्ने बताउँदै यसका लागि राज्य तहबाटै निर्णय लिनुपर्ने बताए ।

आयातमुखी अर्थतन्त्र भएका कारणले पनि यो समस्या आएको उनीहरूको भनाइ रहेको छ । तरलताले गर्दा यो समस्या आएको, तरलता घट्नसाथ बैङ्कबाट लगानी हुने उनीहरूको भनाइ रहेको छ । उनीहरूले व्यवसायीहरूको पनि कमजोरी रहेको, जुन प्रयोजनमा ऋण लिएको छ त्यस क्षेत्रमा लगानी नगर्दा पनि यो समस्या आएको उनीहरूको भनाइ रहेको छ । अन्तरक्रिया कार्यक्रममा सबै पक्षले आफ्नो तहबाट गल्ती भएको स्वीकार गरेका छन् ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले ‘यो समस्या स्थानीय स्तरको मात्र नभएर देशकै समस्या रहेकोले, यहाँ उठेका व्यवसायीका गुनासा तत्काल सहज गर्ने सरकार समक्ष पहल गर्ने बताएका थिए । अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नीतु थापा कोइराला, नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी महेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्