बेलबारीमा टि–२० प्रिमियर लिग सुरु : उद्घाटन खेलमा लक्ष्मिमार्ग विजयी


बेलबारी, १७ मंसिर । बेलबारीमा टि–२० प्रिमियर लिग सुरु भएको छ । बेलबारी क्रिकेट क्लबको आयोजनामा आज शनिवार देखी लिग सुरु भएको हो ।

खेलको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका छन् । राईले ब्याटिङ गरेर खेलको उद्घाटन गरेका थिए । बेलबारीमा क्रिकेटको विकासको लागि नगरपालिकाको सधैँ सहयोग रहने राईले बताएका छन् । पहिलो पटक भएको नगर स्तरीय टि–२० प्रिमियर लिगले थप खेलाडी उत्पादन तथा खेल क्षेत्रको विकासमा सहयोग पुग्ने राईले बताए । बेलबारीमा पनि क्रिकेटको राम्रो भविष्य रहेको बताउँदै, नेपालमा सोचे भन्दा छिटो भएको बताए ।

बेलबारी वडा नं.४ को खेल मैदानमा भएको उद्घाटन खेल ऐश्वर्यमिलन बेलबारी र एल.एक्स लायन, लक्ष्मिमार्ग बिच भएको थियो । ऐश्वर्यमिलनलाई लक्ष्मिमार्गले १ विकेटले पराजित गरेको छ । भोलि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल रेड भेलभेट बेलबारी र लालभित्ती क्रिकेट टिमबिच र दोस्रो खेल ऐश्वर्यमिलन र हातेमालो बाहुनी बिच हुने छ ।

कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा, बेलबारी वडा नं.३ का अध्यक्ष योगेन्द्र सुवेदी, वडा नं.१ का मणि मगर, विभिन्न खेलकुद क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्