विद्युत् खपत बढाउन प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित


काठमाडौं, मंसिर २२। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । आज (बिहीबार) नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको जानकारी गराएका हुन् । उनले नेपालमा उत्पादन विद्युत् नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए ।

घिसिङले विद्युत् खपतको लागि चार्जिङ स्टेसनहरू बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत् प्रसारण, वितरण र सव स्टेसनको विकास नभई विद्युत् खपत बढाउन नसक्ने बताएका छन् । उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । घिसिङले गाउँ गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए ।

उनले भने, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेसनहरू बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौँ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौँ ।’

विद्युत् प्रसारण वितरण र सव स्टेसनको विकास नभई धेरै विद्युत् खपतको अपेक्षा गर्न सक्दैनौँ । विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठुलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर, गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौँ । गाउँ गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दै छौँ । यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ । केही वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था आउँदैन । वर्षाको समयमा विद्युत् निर्यात गरिरहेका छौँ । विद्युत् निर्यात गर्नु सरकारको सफलता होइन तर खपत नभएको विद्युत्लाई खेर फाल्नु भन्दा निर्यात नै गर्नुपर्छ । विद्युत् खपत बढाउने हो । विद्युत् खपतमार्फत नै देश समृद्ध हुन्छ । एक युनिक विद्युत् पनि खेर फाल्नु हुँदैन ।’

उनले अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने बताएका छन् । उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युत्लाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताएका छन् । उनले विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत् पनि खेर फाल्नु नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्