हुलाकी राजमार्ग अन्तर्गत रंगेली–चौकीघाट सडक चाँडै सम्पन्न गर्न पोखरेलको निर्देशन


विराटनगर, २२ मंसिर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागि परेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भएलगत्तैदेखि सो क्षेत्रको विकास निर्माण कार्यहरूलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् ।

उनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रंगेलीदेखि रतुमाईको चौकी घाटसम्मको सडक चाँडै सम्पन्न गराउन पहल गरेका छन् । नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रूपमा रहेको निर्माणाधीन हुलाकी राजमार्गको काम चाँडै सम्पन्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सांसद पोखरेलले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने हुलाकी सडक खण्ड निर्माण कार्यका विषयमा चासो राखेर हुलाकी सडक आयोजना प्रमुख विजय थापासँग कार्यप्रगती बारे जानकारी लिँदै काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । ‘यो हाम्रो लागि लाईफलाईन सडक हो । द्रुत गतिमा काम थालेर चाँडो भन्दा चाँडो निर्माण कार्य सम्पन्न हुनु पर्‍यो। ’ सांसद पोखरेलले आयोजना प्रमुख थापालाई निर्देशन दिँदै भने,‘निर्माण कार्यको गुणस्तरमा पनि जनताको प्रश्न उठिरहेको छ । काममा तलमाथि नहोस् ।’

उनले हुलकी राजमार्ग अन्तर्गत सो क्षेत्रका मुख्य बजारहरूको सडकको चौडाइ सय मिटर फराकिलो बनाउन दबाब समेत दिएका छन् । सांसद पोखरेलको निर्देशनसँगै आयोजना प्रमुख र इन्जीनियरहरुको टोलीले निर्माणाधीन सडकको निरीक्षण गरेको छ । सो टोलीले निर्माण कम्पनीलाई मापदण्ड अनुसारको काम द्रुत गतिमा थाल्न निर्देशन पनि दिएको जनाइएको छ ।

अहिले सो निर्वाचन क्षेत्र अन्तर्गत रंगेलीदेखि चौकीघाट सम्मको सडक निर्माण कार्यले गति लिएको स्थानीयको भनाई छ । सम्बन्धित सरकारी अधिकारीहरूलाई निर्माणाधीन सडकको स्थलगत निरीक्षण गराई समस्या समाधानका लागि पोखरेलले पहल थालेसँगै स्थानीय उत्साहित भएका छन् । ‘जबसम्म स्थानीय समस्या र जमिन माटो चिनेको जनप्रतिनिधि चुनिँदैन तबसम्म आफ्नो क्षेत्रमा केही नहुने रहेछ भन्ने कुराको अनुभूति भयो ।’ स्थानीय रमेश सिंहले भने,‘अब हाम्रो समस्या बुझेको जनप्रतिनिधि आएपछि काम चाँडै सम्पन्न हुन्छ भन्ने आस जागेको छ ।’

यति बेला हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माण कार्यले तीव्रता पाएको छ । हुलाकी सडक आयोजना कार्यालयले यसै आर्थिक वर्षको अन्त्यसम्ममा कालोपत्रे सडक सम्पन्न गर्ने गरी काम अघि बढेको जनाएको छ । ‘हामीलाई यस सडकको विषयमा दिनहुँ फोनहरू आइरहन्थ्यो ।’ आयोजना प्रमुख थापाले भने,‘अहिले फिल्डमा काम पनि भइरहेको छ । हामी काम सम्पन्न गर्ने दृढ संकल्पका साथ लागि परेका छौँ ।’

सोही सडकमा पर्ने रतुवा खोलकोको अधुरो पुलको काम समेत अब सुरु हुने भएको छ । सो पुलको काम आगामी पुस अन्तिम वा माघको पहिलो सातदेखि सुरु हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्