अर्जेन्टिना फाइनलमा प्रवेश : फिफा विश्वकप कतार २०२२


काठमाडौं, २८ मंसिर । अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा भएको सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोलको अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जित पक्का गरेको थियो । पहिलो हाफमा क्रोएसियाले लगातार दबाब बनाए पनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गर्‍यो ।
अर्जेन्टिनाले पटक पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखिरह्यो । मेस्सीले एकल प्रयासमा तेस्रो गोलको अवसर सिर्जना गर्दै अर्जेन्टिनालाई फाइनलनजिक पुर्‍याए । खेलको ३४ औँ मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
३९ औँ मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैँ बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाए पनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।
४२ औँ मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता जोगाउन सफल भयो ।
५८ औँ मिनेटमा लिभाकोभिचले अर्जेन्टिनालाई अग्रता थप्न दिएनन् । लिओनेल मेस्सीले जुलियन अल्भारेजसँग वन टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर ६९ औँ मिनेटमा अर्जेन्टिनाले ३–० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्काउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।
अर्जेन्टिनाले ३–० गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो। रुसमा चार वर्षअघि भएको विश्वकपमा अर्जेन्टिना ३–० गोल अन्तरले नै क्रोएसियासँग पराजित भएको थियो । अर्जेन्टिनाले यस जितसँगै फाइनलमा स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधवार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन् ।
प्रतिक्रिया दिनुहोस्