पूर्व विद्यार्थीको सक्रियतामा आठराईमा सामूहिक अक्षय-कोषको स्थापना 


तेह्रथुम, २९ मङ्सिर । आठराई – २, खाम्लालुङ, तेह्रथुममा रहेको श्री जलकन्या आधारभूत विद्यालयमा पूर्व विद्यार्थीहरूको सक्रियतामा सामूहिक अक्षय कोष स्थापना भएको छ । ‘सामूहिक अक्षय कोष अभियान’अन्तरगत सङ्कलन गरिएको रकमबाट उक्त अक्षय कोषको स्थापना गरिएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ५ लाख पाँच रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेर सामूहिक अक्षय कोषको शुभारम्भ गरिएको छ । ‘श्री जलकन्या सहयोगी हातहरू’ नाम दिएर पूर्व विद्यार्थीहरूले सामूहिक अक्षय कोष निर्माणका लागि अभियान नै सञ्चालन गरेका थिए । अभियानका संयोजक केशु विरही, सचिव सीता खनाल, कोषाध्यक्ष रामप्रसाद गिरीले संयुक्त रूपमा एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर हाङश्रोङ लिम्बू र प्रधानाध्यापक तिलबहादुर खवासलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रममा आठराई गाउँपालिका वडा नं २ का अध्यक्ष भीमकाजी लिम्बू, गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद खनाल, राजनीतिकर्मी चूडामणि बराल, जग्गादाताहरूका साथै अभिभावकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्ने गरी बालबालिकाका लागि शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो । विद्यालयको शैक्षिक विकासमा सहयोग पुगोस् भनेर आफूहरूले यो सामूहिक अक्षय कोष निर्माणका लागि गत वर्ष देखि चलाएको अभियान सफल भएको अभियानका संयोजक केशु विरही बताउँछन् । संयोजक विरही सामूहिक अक्षय कोष सञ्चालनका लागि निर्देशिकाको समेत निर्माण गरिएको बताउँछन् ।

अक्षय कोषको व्याजवापद प्राप्त हुने रकममध्ये ८० प्रतिशत रकम विद्यालयको शैक्षिक सुधारमा खर्च गर्न पाइने छ भने बाँकी २० प्रतिशत भने मूल पुजीमा रूपान्तरण हुने कार्यविधि तयार पारिएको अभियानका सचिव सीता खनाल बताउँछिन् । पूर्व विद्यार्थीहरूको सक्रियतामा स्थापना भएको यो अक्षयकोष विद्यालयको शैक्षिक विकाशमा सहयोगी बन्ने वडा अध्यक्ष भीमकाजी लिम्बू बताउँछन् । ५ लाख पाँच रुपैयाँबाट सुरु गरिएको यो अक्षयकोषलाई वार्षिक रूपमा वृद्धि गर्दै लगिने ‘श्री जलकन्या सहयोगी हातहरू’ अभियानका कोषाध्यक्ष रामप्रसाद गिरी बताउँछन् ।

सामूहिक चेतनाको विकास गर्ने उद्देश्यका साथ सुरु भएको यो अभियानको छुट्टै महŒव रहेको पूर्व प्रधानाध्यापकसमेत रहेका अभियानका सल्लाहकार काशीनाथ खनालको बुझाइ रहेको छ । स्थानीयले भने पूर्व विद्यार्थीबाट भएको यो कार्यलाई सकारात्मक रूपमा लिँदै यसको पारदर्शी रूपमा प्रयोग हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्