केशु विरहीको ‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पण


बेलबारी, २ पौष । बेलबारी साहित्य विकास समितिको पाँचौँ साधारणसभा साथै लेखक तथा पत्रकार केशु विरहीद्वारा लिखित अनुसन्धानमूलक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा शनिवार बेलबारी साहित्य विकास समितिको पाँचौँ साधारणसभामा कृतिको लोकार्पण गरिएको हो ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, लेखक तथा समालोचक देवी पन्थी, भाषाविद् ‘आचार्य अ’, स्रष्टा तथा पूर्व सांसद हर्कमान तामाङ, जनगायिका तथा संविधान सभा सदस्य मधु गुरुङ लगायतले सामूहिक रूपमा कृतिको विमोचन गरेका थिए । कार्यक्रममा पुस्तकका बारेमा लेखक तथा समालोचक देवी पन्थी, भाषाविद् ‘आचार्य अ’ले टिप्पणी गरेका थिए ।

कृति माथिको टिप्पणी गर्दै समालोचक पन्थीले यो कृति अनुसन्धान गर्न चाहनेका लागि एउटा महत्पूर्ण कृति बन्न पुगेको बताए अर्का टिप्पणीकार आचार्यले बेलबारीको साहित्यिक इतिहास भनिए पनि यसले बेलबारीको मात्र नभएर बेलबारीदेखि बाहिरका स्रष्टालाई समेत समेटेको बताए । दुई खण्डमा विभाजन गरिएको कृतिमा बेलबारीको ६ दशकभन्दा लामो साहित्यिक इतिहास समेटिएको छ ।

कृतिभित्र सङ्क्षिप्त परिचय, बेलबारीमा साहित्यको विधागत अध्ययन, बेलबारीमा आख्यान साहित्यको उत्पत्ति र विकास, गजलको इतिहास, बेलबारीमा बाल साहित्यको अध्ययन, बेलबारीमा मातृभाषामा साहित्य, बेलबारीमा जनवादी साहित्य, कृति प्रकाशन गरेका लेखक तथा स्रष्टाहरू, कृति प्रकाशन नभएका लेखक ता स्रष्टाहरू, साहित्यिक सङ्घसंस्थाहरू, बेलबारीका पत्र पत्रिकाहरू, पाहुनाहरूको योगदान लगायत विविध उपशीर्षक रहेका छन् ।

विगत तीन दशकदेखि कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सहलेखन) २०५५, ‘आमाको माया’ (उपन्यास) २०५६, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजल सङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१ र ‘रेस्माको सेन्डल’ (बाल कथासङ्ग्रह) २०७९ जस्ता आधा दर्जनभन्दा बढी साहित्यिक कृति बजारमा आइसकेका छन् । यो उनको आठौँ कृतिको रूपमा बाहिर आएको छ । यो कृति प्रकाशनपूर्व नै ४०० प्रति अनलाइन रूपमा विक्री भएर पूर्वमा एउटा इतिहास रच्न सफल भइसकेको छ ।

कार्यक्रमको सञ्चालन साहित्यकार रमेश निरौलाले गरेका थिए भने बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्