भागवत गीता छोएर भ्रष्टाचार नगर्ने सांसद शर्माले खाए शपथ : तलब भत्ता नलिने घोषणा


काठमाडौं, ७ पुस । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भागवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरूको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।

चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हुने भन्दै भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भागवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ ग्रहण गराएका हुन् । सोही क्रममा सांसद शर्माले भागवत गीता छोएर भ्रष्टाचार नगर्ने कसम पनि खाएका हुन् । भागवत गीता साक्षी राखेर खाएको कसम साँचो हुने धार्मिक मान्यता छ । भागवत गीतामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुँनाले सोही मार्ग पछ्याउँदै आफूले पनि भागवत गीतालाई साक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।

पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएकाले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रयदिन भागवत गीता छोएर भ्रष्टाचार नगर्ने कसम खाएको सांसद शर्मा बताउँछन् । ‘अहिले नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाउँदै गएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ डा.शर्मा भन्छन्, ‘मैले संसद भवनमै गीता छोएर कसम खाएको छु, म कुनै पनि हालतमा भ्रष्टाचार गर्दिन ।’

समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा.शर्माले राजनीतिलाई कमाई गर्ने थलोको रूपमा नभई जनताको सेवा गर्ने क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने बताउँदै आएका छन् । उनले यसअघि नै सांसदको तलब भत्ता नलिई जनताको सेवा गर्ने घोषणा समेत गरिसकेका छन् । पूर्वमन्त्रीसमेत रहेका एमाले उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले हराउँदै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । काँग्रेस उम्मेद्वारहरुमध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएर डा.शर्माले पार्टीभित्र नयाँ रेकर्ड पनि कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्