बेलबारी भाषा तथा साहित्यको वर्तमान स्थिति अन्तरक्रिया कार्यक्रम सम्पन्न


बेलबारी । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा बेलबारी भाषा तथा साहित्यको वर्तमान स्थिति अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिका कार्यालयको सभाहलमा शुक्रवार सम्पन्न भएको हो ।

कार्यक्रममा करिब १४ वटा जातीय संस्थाका प्रतिनिधिहरू सहभागी थिए । जातीय संस्थाका प्रतिनिधिहरूले मातृभाषा, संस्कृति तथा साहित्यको वर्तमान स्थितिको जानकारी गराउँदै सरकार पक्षबाट संरक्षणको भूमिका कमजोर रहेको गुनासो गरेका थिए । नेपालमा सरकारी कामकाजमा प्रयोग भएको वर्तमान ‘खस’ नेपाली भाषा र संस्कृत भाषाको संरक्षणको लागि करोडौँ लगानी भएता पनि अन्य जातीका भाषा तथा संस्कृतिको संरक्षणमा सरकार गम्भीर नदेखिएको बताए । नेपाल भित्र रहेको सबै भाषा तथा संस्कृतिको संरक्षण तथा विकासमा सरकार गम्भीर हुन आग्रह पनि गरेका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ समन्वयन परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राईले पनि आफ्नो विचार राखेका थिए । वर्षौँदेखि सङ्घर्ष गरेता पनि खस र संस्कृत भाषाको संरक्षण र विकास बाहेक अन्यलाई यथास्थितिमै सरकारले राखेको आरोप लगाएका छन् । उनले भने “व्यवस्था बद्लियो तर अवस्था बद्लिएन, सरकारले कानुन ल्यायो तर संघ, प्रदेश न स्थानीय सरकार कसैले कार्यान्वयन गरेन । स्थानीय सरकारले विद्यालयबाट सुरु गर्नु पर्ने थियो तर अहिलेसम्म कार्यान्वयन भएन ।” केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर कार्यान्वयन गरे मात्र सबै भाषा र सांस्कृतिक संरक्षण तथा विकास सम्भव हुने राईले बताए । राष्ट्रिय समस्या भएता पनि कुनै पनि अन्यौलतामा नराखी भाषा र सांस्कृतिक संरक्षण तथा विकासमा गम्भीर हुन बेलबारी प्रज्ञा प्रतिष्ठानलाई राईले आग्रह गरेका छन् ।

मातृभाषाको अभ्यास घरबाट सुरु गरे संरक्षण हुने र पुस्ताहस्तान्तरण गर्न सकिने बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले बताइन । बेलबारी साहित्य विकासको तर्फबाट भाषा तथा साहित्य क्षेत्रको विकासमा निरन्तर काम गरिरहने लेकालीले बताइन । साहित्यकार तथा लेखक ईरान राईको पनि उपस्थिति रहेको थियो । कार्यक्रम बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्