केराबारीमा मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ लाग्ने


केराबारी, १० पौष । केराबारी व्यापार प्रबन्ध समितिको आयोजनामा केराबारीमा कृषि, पर्यटन तथा व्यापार महोत्सव लाग्ने भएको छ । आज आयोजकले केराबारीमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशान शाहीले मच्छिन्द्र मेलाको इतिहासलाई बचाउँदै त्यसैका माध्यमबाट केराबारीमा कृषि तथा व्यापार –व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । उनले केराबारीमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै यहाँ उत्पादित सामग्रीको बजार बढाउने उद्देश्य रहेको बताए ।

२४ घण्टै सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध गरिएकोले ढुक्क भएर सबैलाई महोत्सवमा आउन पनि अध्यक्ष शाहीको अनुरोध रहेको छ । पौष १३ गतेदेखि १९ गतेसम्म चल्ने पर्यटन तथा व्यापार महोत्सवमा कृषिजन्य, जडीबुटीजन्य, फलफूल तथा पुष्प प्रदर्शनी, साना तथा घरेलु उत्पादन र हस्तकला, अटोमोबाइल्स, गार्मेन्ट, जातीय संस्कृति झल्कने लगायतका स्टल रहने छन् ।

केराबारीमा डिजिटल प्रवेशद्वारको निर्माणका लागि सञ्चालन गरिने पर्यटन तथा व्यापार महोत्सव पौष १३ गतेदेखि १९ गतेसम्म लाग्ने केराबारी व्यापार प्रबन्ध समितिका महासचिव टेकबहादुर कार्की बताउँछन् । महोत्सवमा रात्रिकालीन रूपमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने भने दिवाकालीन समयमा भने अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको आयोजना पनि गरिएको छ । सो अवसरमा साहित्यिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । दिनमा खेलकुद प्रतियोगिता र राती भने सांस्कृतिक कार्यक्रम सञ्चालन हुने ।

मेलालाई भव्य र सव्य रूपमा सम्पन्न गर्न आर्थिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक, शान्ति सुरक्षा लगायतका विभिन्न उपसमितिको गठन भएको छ । यो मेला डेढ सय वर्ष अघिदेखि देखि लाग्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्