निर्माणाधीन बेलबारी नगर अस्पतालमा कुनै पनि लापरबाही छुट छैन : नगरप्रमुख राई


बेलबारी । बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले निर्माणाधीन बेलबारी नगर अस्पतालमा कुनै पनि लापरबाही भए कारबाही गर्ने बताएका छन् । बेलबारी वडा नं.४ मा ११ करोड बराबर लागतमा निर्माण हुँदै गरेको बेलबारी नगर अस्पतालमा कमसल सामाग्री प्रयोग भएको जनगुनासो आएसँगै अनुगमन पश्चात् नगरप्रमुख राईले कुनै पनि लापरबाहीमा छुट नहुने बताएका हुन ।

नगर अस्पताल भवन निर्माणमा सम्झौता अनुसारको सामाग्री प्रयोग नभएको पाइए पछि तत्काल काम रोकिएको थियो । यस अघि पनि सम्झौता सर्त विपरीत सिमेन्ट प्रयोग गरेको प्रमाण फेला परेको थियो । त्यस बेला पनि केही समय काम रोकिएको थियो । कमसल निर्माण सामाग्री फिर्ता गरे पछि मात्र काम सुचारु गरिएको थियो । पुनः दोस्रो पटक पनि सोही लापरबाही ठेकेदारले दोहोराएको छ ।

इँटा र सिमेन्ट नगरपालिकाको निर्देशनमा फिर्ता गरेर सम्झौता अनुसारको सामाग्री ल्याएको छ । तर जे गर्दा पनि हुन्छ भन्ने निर्माण व्यवसायीको व्यवहार देखिन्छ । नगरपालिकाले पटक पटक सचेत गराउँदा पनि लापरबाही दोहोरी रहेको छ । यो निर्माण कार्य शृङ्खला निर्माण सेवा नुवाकोटले गरिरहेको छ । अब कुनै लापरबाही भए त्यही प्रकारको व्यवहार हुने नगर प्रमुख राईको चेतावनी रहेको छ । काम र सामाग्रीको गुणस्तरमा कहीँ पनि कम्परमाइज नहुने राईले बताए । बेलबारी वडा नं.४ का वडा अध्यक्ष चन्द्र लिम्बुले वडाको तर्फबाट पनि कडा निगरानी रहने बताएका छन् ।

शृङ्खला निर्माण सेवा एक कर्मचारी रमेश गौतम दुई चारवटा सम्झौतामा नखुलाएको सामाग्री मात्र प्रयोग भएको बताउँछन् । आगामी दिनमा गल्ती नदोहोरिने गौतमले बताए । अस्पताल एक वर्ष भित्र निर्माण गरी सक्नु पर्ने थियो तर सम्झौता अनुसार निर्धारित समयमा सम्पन्न नहुने भए पछि पुनः म्याद थपिएको छ । चैत ३० गते सम्मलाई म्याद थप गरेको गौतमले जनाए ।

१ नम्बर इँटा प्रयोग गर्नु पर्नेमा टुक्रे इँटाहरू प्रयोग भएको र व.पी.सी सिमेन्ट प्रयोग गर्नु पर्ने ठाउँमा पि.यस.सी सिमेन्ट प्रयोग भएको बेलबारी नगरपालिकाको सहरी पूर्वाधार विकास शाखाले जनाएको छ । सम्झौता विपरीतका निर्माण सामाग्री फिर्ता गरेर अहिले भने ओ.पि.सी सिमेन्ट ल्याएको छ र १ नम्बर इँटा ल्याब टेस्टबाट प्रमाणित गर्दै काम सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्