प्रदेश १ का मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना


मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना सन्देश मार्फत गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसार गुरुङ जातिले नयाँ वर्ष सुरुवात भएसँगै भव्य रूपमा मनाउने पर्व हो ।

दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ । यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गरिन्छ मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल सदियौँ देखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो मुलुक सांस्कृतिक परम्पराको दृष्टिकोणले सम्पन्न मुलुक हो । विभिन्न भाषा, संस्कृति, वेषभूषा, संस्कारसहित आआफ्नो जातीय पहिचान मानव सभ्यताका आधार स्तम्भ हुन् । यस्तो विविधताको संरक्षण, प्रवद्वन र विकास गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा सहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा तमु ल्होसारका अवसरमा मुख्य मन्त्री राईले शुभकामना व्यक्त गरेका छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। यसैबिच सरकारले शुक्रवार आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्