धनपालगडीमा निर्माणाधीन संरचनामा कमसल सामाग्रीको प्रयोग : नगरपालिकाद्वारा काम रोक्का


बेलबारी । बेलबारीको धनपालगडी पर्यटकीय विकास क्षेत्रमा निर्माणाधीन संरचनामा सम्झौता विपरीत कमसल सामाग्री प्रयोग भएको पाइएको छ । वडा नं.५ मा रहेको धनपालगडी पर्यटकीय क्षेत्र विकासको लागि निर्माण हुँदै गरेको संरचनामा अनुगमनको क्रममा कमसल सामाग्रीको प्रयोग भएको भेटिएको हो ।

धनपालगडी क्षेत्र भित्र अहिले रु.८ करोड २३ लाख ३४ हजार बराबरको विभिन्न संरचना निर्माण भइरहेको छ । सोही निर्माणाधीन संरचनामा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको नेतृत्वमा गरीको अनुगमनमा सम्झौता विपरीत सिमेन्ट र इँटा प्रयोग भएको भेटिएको हो । फेरी कुनै फटाई दोहोरिए ठेक्का लिने कम्पनीलाई कालो सूचिमा राख्ने र हतसम्मको कानुनी कारबाही गर्ने नगरप्रमुख राई बताएका छन् ।

यस अघि पनि स्थानीयको गुनासोसँगै नगरपालिकाले गरेको अनुगमनमा गुणस्तरहीन काम भएको भेटिएको थिए । त्यस बेला निर्माण सामाग्री सम्झौता अनुसारको प्रयोग गर्न लगाएको थियो भने सम्झौता विपरीतका सामाग्री फर्काएको थियो । तर पुन सम्झौता विपरीत निर्माण सामाग्री भेटिएको हो । नगरपालिकाले सम्झौता विपरीतका सामाग्री फर्काउन र सम्झौता अनुसारको सामाग्री नल्याइन्जेल पुन काम गर्न निषेध गरेको नगर प्रमुख राईले जनाएका छन् ।

अनुगमनमा वडाका अध्यक्ष डिल्ली बहादुर कटुवाल, स्थानीय साथै नगरपालिकाको प्राविधिक टोली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्