सुन्दरहरैचाको विराटचोकमा आधुनिक प्रविधिको स्वच्छ पिउने पानीको धारा निर्माण हुने


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका स्थित विराटचोक बजारमा आरो प्रविधिद्वारा फिल्टर गरिएको स्वच्छ पिउने पानीको सार्वजनिक धारा निर्माण हुने भएको छ । वडा नम्बर १२ र नगरपालिकाको बजेटबाट करिब ९ लाख लागतमा महेन्द्र प्युरिफायर प्रा.लि.ले धारा निर्माण गर्ने भएको हो ।

कम्पनीका प्रदेश १ प्रमुख सुशील घिमिरेले काठमाडौँ बाहिर पहिलो पटक यो प्रविधिको धारा निर्माण हुने बताए । एउटा सेन्सर सहित २ वटा धारा सञ्चालन हुने छन् । धारा निर्माण गर्न मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकलि चौधरी, वडा अध्यक्ष रोशनप्रसाद ढकालले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।

यात्री र किनमेल गर्न आउने नागरिक, व्यापारीहरूलाई निःशुल्क स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले आधुनिक धारा निर्माण गर्न लागिएको नगरप्रमुख गुरागाईँले बताए । कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्की, निवर्तमान अध्यक्ष नवराज चापागाईँ लगायतको उपस्थिति रहेको थियो । धारा जडान तथा निर्माण कार्य एक महिनामा सम्पन्न हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्