गुरुकुल पाठशाला बाल क्लबद्वारा गरिब तथा विपन्नलाई न्यानो कपडा वितरण


बेलबारी। बेलबारी ३ मोरङमा रहेको गुरुकुल पाठशाला बाल क्लबले न्यानो कपडा वितरण गरेको छ । विपन्न वर्गलाई लक्षित गर्दै जाडोका लागि न्यानो अभियान अन्तरगत लत्ता कपडाहरू निःशुल्क वितरण गरेका हुन् ।

यो अभियानअन्तर्गत बालबालिकाहरूले बेलबारीको पश्चिम बसस्टेण्ट र लालभित्तीमा गरी दुई स्थानमा करिब ३ सय थान कपडा वितरण गरेका थिए । कक्षामा पढाएर मात्र नहुने र समाजमै गएर परोपकारी कार्यक्रम गर्नु चाहिँ असली सिकाइ भएकोले विद्यालयले बालबालिकालाई सम्बन्धित क्षेत्रमै लगेर सामाजिक सेवामा लाग्न अभिप्रेरणा जगाउन यो कार्यक्रमको आयोजना गरेको विद्यालयकी शिक्षक मिना नेपाली बताउँछिन् । आफूहरूले घरमा प्रयोग नभएका पुराना कपडा अभिभावकबाट संकलन् गरेको र ती कपडालाई सफाइ गरेर गरिब तथा विपन्न परिवारलाई वितरण गरेको गुरुकुल विद्यालयका बालक्लबका अध्यक्ष विकेश पन्त बताउँछन् ।

विद्यालयले किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञानमा जोड दिएको र बालबालिकालाई सामाजिक उत्तर दायित्वबोध गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल कुमार खुलाल बताउँछन् । विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम गरिरहेको पनि प्रिन्सिपल खुलालको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्