भगवती माविको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


बेलबारी । बेलबारी ३ मा रहेको भगवती माविको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विद्यालयको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गरेका हुन।

कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइराला, ३ वडाका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, बेलबारी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष राजेशजङ्ग कार्की, विद्यालयका पूर्व अध्यक्ष पर्शुराम सुवेदी, कबीर मावि बेलबारी २ का प्रधानाध्यापक प्रेम कार्की, सहिद स्मृति आधारभूत विद्यालयका प्रअ मोती सुन्चेउरी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, जग्गा दाता तथा चन्दा दाताहरूको उपस्थिति रहेको थियो ।

अभिभावक दिवसकै दिन भगवती मावि २०४४ सालको एस एल सी ब्याचका पूर्व विद्यार्थीबाट सङ्कलन गरिएको २ लाख १ हजार र हालसालै मात्र निवृत्त भएका शिक्षक हरिप्रसाद सुवेदीबाट रु. १ लाख गरी तीन लाख बराबरको चेक अक्षय कोषका लागि हस्तान्तरण गरियो । साथै सोही अवसरमा अक्षय कोष दाता सरस्वती थापाले यस अघि स्थापना गरेको अक्षय कोषमा जम्मा हुने गरी ५१ हजार बराबरको चेक हस्तान्तरण गरेकी छिन् ।

सोही अवसरमा विद्यालयकी शिक्षिका शावित्रा कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत १ देखि ५ सम्मका १० जना छात्र–छात्रालाई विद्यालय पोसाक वितरण गरेकी थिइन् । साथै उक्त अवसरमा अक्षय कोष दाताहरूका साथै लामो समयसम्म विद्यालयमा सेवा प्रदान गरेर हालसालै सेवानिवृत भएका शिक्षक हरिप्रसाद सुवेदी र विद्यालयलाई लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्ने अर्किड बेलबारीलाई समेत कदर पत्रले सम्मानित गरिएको थियो । साथै उक्त अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने शिक्षक मिलन प्रसाईँ सफाइ कर्मचारी सञ्जु मल्लिकलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्का नगर अध्यक्ष तिलकप्रसाद राई, पूर्व शिक्षक हरिप्रसाद सुवेदी, पूर्व शिक्षासमेत रहेका राजनीतिकर्मी महेन्द्रप्रसाद सुवेदी, शिक्षक राजेन्द्रबहादुर थापा, शिक्षक लक्ष्मी रेग्मी सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक चेतनाथ निरौलाको रहेको थियो ।

विद्यालयको ‘सङ्क्षिप्त इतिहास’ पुस्तक हस्तान्तरण निवर्तमान शिक्षक हरिप्रसाद सुवेदीले तयार पारेको ‘श्री भगवती माध्यमिक विद्यालयको सङ्क्षिप्त इतिहास’ नामक पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको छ । ३५ वर्ष सम्म अध्यापन गरी हालसालै सेवा निवृत्त भएका शिक्षक सुवेदीले तयार पारेको यस पुस्तकलाई कार्यक्रम उद्घोषकले ‘लेख हस्तान्तरण’ भनेर उद्घोष गरे पनि प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, विद्यालय व्यवस्थापक समितिका अध्यक्ष प्रताप थापा र प्रधानाध्यापक नारायणप्रसाद आचार्यले संयुक्त रूपमा कृतिकै रूपमा उक्त पुस्तकको शार्वजनिकीकरण समेत गरेका थिए ।

उक्त पुस्तकमा विद्यालयको इतिहास, २०४२ सालदेखि हालसम्म विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूको विवरणका साथै विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्यापक तथा पूर्व विद्यार्थीहरूको अनुभव र अनुभूतिलाई समेत समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्