माओवादी केन्द्र वृहत् वाम एकताको प्रयासमा : वार्ता गर्न पाँच सदस्यीय कार्यदल गठन


काठमाडौँ । नेकपा माओवादी केन्द्रले वृहत् वाम एकताका लागि वार्ता गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वामपन्थी पार्टीहरूबिच एकता अगाडि बढाउन माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा महरासँगै महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेका छन् । माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एकता प्रक्रिया अगाडि बढाएका छन् । नेकपा एसले पनि शुक्रवार वामपन्थी एकताका लागि कार्यदल गठन गरेको थियो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि एकता प्रक्रियामा आउने तयारीमा छ ।

यसैबिच आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारका प्रधानमन्त्रीलाई पुस २६ गते विश्वासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदहरूलाई पार्टीको तर्फबाट आह्वान समेत गरेको छ । ‘हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पौष २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यपालिका रहे बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत प्रदान गर्नका लागि प्रतिनिधि सभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरूलाई पार्टीका तर्फबाट आव्हान गर्ने निर्णय गरियो’, जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्