प्रचण्ड नेतृत्वको सरकारलाई जसपाले विश्वासको मत दिने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । न्यूनतम साझा कार्यक्रममा आफ्ना एजेन्डाहरू समावेश भएको भन्दै विश्वासको मत दिने आधार तय भएको जसपाले जनाएको हो ।

‘जसपाले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको पार्टीको बुझाइ छ । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको देखिन्छ,’ जसपाले भनेको छ, ‘पार्टीका मूलभूत सिद्धान्तको प्रतिकूल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ । यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ ।’

जसपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने कुरामा भने आपत्ति जनाएको छ । ‘पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्