न्यु जनएकताको १७ औँ साधारण सभा सम्पन्न


बेलबारी, २३ पौष । बेलबारी ११ मा रहेको न्यु जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा एक कार्यक्रमकारबिच आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले सहकारीहरूले आर्थिक उन्नति मात्र नगरेर सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरिरहेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । प्रमुख अतिथि राईले सहकारीको रकमलाई उत्पादनमूलक स्थानमा लगानी गर्न पनि अनुरोध गरे । उपप्रमुख नीतु थापा कोइरालाले गाउँ-गाउँमा गठन एका सहकारीले बचत गर्ने बानीको विकास गरेकोमा खुसी व्यक्त गर्दै त्यही बचतले अभर परेको बेलामा ठुलो सहयोग पुर्‍याउने बताइन ।

बेलबारी नगरपालिका वडा नं ११ का अध्यक्ष विक्रम वान्तवा राई आफूहरू वडामा रहेका सबै सहकारीलाई मर्ज गरेर एउटै सहकारी संस्थाको विकास गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताए । कार्यक्रमका विशेष अतिथि जिल्ला बचत सङ्घ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाले वार्षिक साधारण सभामा सेयर सदस्यको भूमिका महत्त्वपूर्ण रहेको बताए । सहकारीमार्फत व्यवसाय गरिरहेकोले बताउँदै यसको सफलतामा सबै सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका वडा नं ९ का अध्यक्ष शालिग्राम बस्नेत, शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोविन्द भण्डारी लगायत, वडा नं ११ मा रहेका सहकारी तथा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट अङ्क ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने इसिका खड्का, जेविक बस्नेत, करण श्रेष्ठ र ममता सन्जेललाई रकमसहित सम्मान गरेको छ ।

२०६२ मा २५ जनाबाट सुरु भएको यस संस्थामा हाल ३ हजारको हाराहारीमा सेयर सदस्य रहेको संस्थाले जनाएको छ । अध्यक्ष जगत बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव नरेन्द्र बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्