केन्द्रीय निर्णयप्रति प्रदेश–१ मा माओवादी केन्द्रको असहमति


विराटनगर । प्रदेश–१ मा नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएका छन् । प्रदेश–१ को सरकार पाँच वर्ष नै एमालेले चलाउने केन्द्रीय निर्णयप्रति असहमति जनाउँदै, अपमान हुने गरी निर्णय गरेको भन्दै नसच्चाएसम्म सरकारमा सहभागी नहुने भएका हुन ।

प्रदेश १ का माओवादी केन्द्रका नेताहरूले केन्द्रीय निर्णयप्रति असहमति जनाएसँगै सरकार शपथ ग्रहण र मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै मुख्यमन्त्री हिक्मत कार्की ‘सकस’ मा परेका छन् । नयाँ जनादेश अनुसार केन्द्रमा बनेको गठबन्धन अनुसार आइतबार मात्र माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशमा एमालेका नेता हिक्मत कार्की प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका थिए ।

उनले आज शपथ ग्रहणसँगै पाँच सदस्यीय मन्त्रिमण्डल गठनको तयारी थालेका थिए । माओवादी केन्द्र संसदीय दलको नेता इन्द्र आङ्बोले केन्द्रमा माओवादी केन्द्रलाई नै अपमान हुने गरी गरिएको निर्णय नसच्याएसम्म एमालेको नेतृत्वमा रहेको सरकारमा सामेल नहुने बताउँदै यसको जानकारी मुख्यमन्त्री कार्कीलाई समेत गराइसकेको बताएका छन् ।

‘हिजो केन्द्रमा प्रदेश–१ को पद बाँडफाँटमा जे निर्णय भयो, यो हामीलाई मान्य छैन,’ नेता आङ्बोले भने, ‘हाम्रो पार्टीलाई अपमान गर्ने गरी निर्णय भएको छ नसचिएसम्म हामी सरकारमा सामेल हुँदैन । यद्यपि एमालेले भने माओवादी सरकारमा सहभागी नभए पनि पूर्व निर्धारित सानो आकारको मन्त्रिमण्डल गठनको प्रक्रिया नरोकिने बताएको छ । एमालेका प्रमुख सचेतक रवतीरमण भण्डारीले केन्द्रको निर्णयलाई आफूहरू मान्न तयार रहेकाले माओवादीले उठाएको विषय केन्द्रको भएकाले उपनि प्रदेश सरकारमा सामेल हुने आफू विश्वस्त रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्