बेलबारी नगरपालिकाद्वारा अनुगमन


बेलबारी । नगर भित्र सञ्चालन भइरहेका योजनाको गुणस्तरमा कमी आउन नदिन बेलबारी नगरपालिकाले अनुगमनमा विशेष जोड दिइरहेको छ । नगरउपप्रमुख नीतु थापाको अध्यक्षतामा हुने नियमित अनुगमनका अतिरिक्त पनि नगरप्रमुख दिलप्रसाद राईले समेत सञ्चालन भइरहेका पूर्वाधार विकासका योजनामा अनुगमन गरिरहेका छन् ।

पौष २७ गते सरकारले पृथ्वी जयन्तीको सार्वजनिक बिदा दिए पनि आफूहरू भने बिदा नभनी काममा खटिरहेको, योजनामा कमजोरी हुन नदिन नियमित रूपमा अनुगमनलाई अगाडि बढाएको नगरप्रमुख राईले बताए । विशेष गरेर बुधवार बेलबारी नगरपालिका वडा नं ५, ६ र ८ मा रहेका सडक तथा पूर्वाधारतर्फका योजनाको अनुगमन गरिएको थियो ।

नगरप्रमुख राईको नेतृत्वमा रहेको टिमले बेलबारी ५ मा रहेको पाँचकोले – केलारी मार्ग, बेलबारी ६ मा रहेको सोमवारे – बरियमती सडक लगायतको कालोपत्रे सडकको अनुगमन गरेको थियो । यी योजनाहरू बेलबारी नगरपालिकाको ५० प्रतिशत र वडाको ५० प्रतिशतमा योजना सञ्चालन भइरहेका बेलबारी नगरपालिकाले जनाएको छ ।

यी दुई कालो पत्रे सडक योजनाको कुल लागत १ करोड १३ लाख ३९ हजार ४ सय ६६ रुपैयाँ रहेकोमा पाँचकोले – केलारीमा ५६ लाख ३२ लाख ७ सय ३५ र सोमवारे – बरियातीकाे ५७ लाख ६ हजार ७ सय ३३ रहेको नगरपालिकाले जनाएको छ । यी दुवै योजनामा ५ मिटर चौडाइ र १ किलोमिटर १ सय ९४ मिटर लम्बाइ रहेको छ । २०७९ साल मङ्सिर २७ गते सम्झौता भएका यी दुवै सडक २०८० असार १५ गते सम्ममा निर्माण सम्पन्न हुने छन् । यी योजना सिस्टिना कन्स्ट्रक्सन प्रालि बेलबारी १ ले ठेक्का लिएको छ ।

अनुगमनमा नगरप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरू डिल्ली कटुवाल, टेकबहादुर राई, नगरपालिकाका इन्जिनियर तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो । अनुगमनमा पुगेका नगरप्रमुख राईलाई वडा अध्यक्ष टेकबहादुर राईले सोमवारे – बरियमती सडकको मूलद्वारमा रहेको सडकमा यस अघि नै प्राइमर लगाएर छाडिएको, जसले गर्दा जनताले बारम्बार रूपमा प्रश्न गर्न थालेकाले चाँडो काम पूरा गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । जवाफमा नगरप्रमुख दिलप्रसाद राईले यस अघि नै आफूले चाँडो काम पूरा गर्न निर्देशन दिइसकेको, यदि निर्देशनकाे अवज्ञा गरेमा कारबाही गरिने बताए । स्थानीयले भने मुखमा रहेको काम सकेर मात्र अघि बढ्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्