कित्ताकाट रोकिदा जनतालाई सास्ती : मेयर राई भन्छन् ,‘जग्गा वर्गीकरण माग भरीमा सकिन्छ’


बेलबारी । जग्गा वर्गीकरणको कारण कित्ताकाट नखुल्दा आमनागरिकद्वारा गुनासो हुन थालेको छ । भुउपयोग ऐन २०७६ मा व्यवस्था भए अनुसार जग्गा वर्गीकरण गर्नु पर्ने र सम्पन्न नभएसम्म कित्ताकाट रोकिएको हो ।

देशभर जग्गा वर्गीकरणको कार्य भइरहेको छ । संघिय सरकारले जग्गा वर्गीकरणको अधिकार स्थानीय सरकारलाई दिएको छ । बेलबारीमा पनि वर्गीकरणको कार्य जारी छ । बेलबारीमा वर्गीकरण कार्य ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

बेलबारी वडा नं.१ निवासी विशाल थापा भन्छन्, ‘बैङ्कको ऋण बढी भइसको, कित्ताकाट भए जग्गा बेचेर भए पनि तिर्थे । पालिकालाई नै सबै धनिपुर्जा बुझाएर ऋण र ब्याज दुवै तिर्न आग्रह गर्ने बेला भएको छ । स्थानीय सरकारले किन जग्गा वर्गीकरण विषयमा चाढो काम नगरेको ?’

थापाको जस्तै आमनागरीक साथै व्यवसायीहरूको पनि गुनासो उस्तै छ । बैङ्कको बढ्दो ब्याज र कित्ताकाट ठप्प हुँदा संघीय संसद् भवन अगाडि हिजो (मङ्गलवार) आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको जस्तै दिन आउँदैन भन्न सकिन्न भन्ने गुनासो रहेको छ । जग्गा वर्गीकरण कार्य जटिल र संवेदनशील भएको कारण पनि बेलबारी नगरपालिका साथै वडाले विज्ञ, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था र स्थानीयसँग छलफल साथै राय पनि लिएको थियो ।

बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईका अनुसार जग्गा वर्गीकरण कार्य अन्तिम चरणमा रहेको छ । राई भन्छन्, ‘जग्गा वर्गीकरण कार्यको अन्तिम टुङ्गोमा पुग्न लागेको छौ । माग भरीमा काम सम्पन्न भइसक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्