बेलबारीमा नेपाल प्रहरी अस्पताल सञ्चालन हुने


मोरङ । बेलबारी नगरपालिकामा नेपाल प्रहरी अस्पताल सञ्चालन हुने भएको छ । आइतबार नेपाल प्रहरी अस्पतालको टोलीले बेलबारी वडा नं.३ मा रहेको साबिक इलाका प्रहरी कार्यालयको भवन अवलोकन गरेको छ ।

बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरी अस्पतालका कार्यकारी निर्देशक एआईजी डा.आशा सिंह नेतृत्वको टोलीसँग सम्भावित अवस्थाबारे छलफल भएको थियो । तत्काल विशेषज्ञ डाक्टर, इमरजेन्सी, ल्याब, एक्स-रे सुविधासहितको १५ शैयाको अस्पताल चाडै सञ्चालन गर्ने योजनामा रहेको डा. सिंहले बताएकी छिन ।

डा.सिंहले भनिन, ‘प्रदेश नं.१ मा प्रादेशिक अस्पताल नभएको कारण सम्भावना अध्ययन गर्दै जाँदा बेलबारी नगरपालिकाको वडा नं.३ को साबिक इलाका प्रहरी कार्यालयको भवनमा प्रारम्भिक सेवा केन्द्र चाडै सञ्चालन गर्ने छौ ।’ डा. सिंहका अनुसार प्रदेश १ र ६ बाहेक अन्य सबै प्रदेशमा नेपाल प्रहरी अस्पताल सञ्चालनमा आइसकेको छ । निकट भविष्यमा अपरेसन, ट्रमा सेन्टर, विभिन्न विभागका विशेषज्ञ डाक्टरको सुविधासहितको १०० शैयाको अस्पताल सञ्चालन गर्ने योजना रहेको डा.सिंहले बताइन ।

प्रारम्भिक सेवा केन्द्रमा ५ जना डाक्टर रहने एस.एस.पी केदार ढकालले बताए । ढकालका अनुसार ५ जना मध्य २ जना विशेषज्ञ डाक्टर रहने छ । १०० शैयाको प्रादेशिक अस्पताल सञ्चालनमा कम्तीमा २ बिघा जग्गा आवश्यक पर्ने ढकालले जनाएका छन् । बेलबारी वडा नं.३ को साबिक इलाका प्रहरी कार्यालय रहेको जग्गा भने करिब ६ कट्ठा ९ धुर रहेको छ ।

बेलबारी नगरपालिकाले सुरुवात देखी नै स्वास्थ्य क्षेत्रको विकासमा जोड दिइरहेको हुँदा नेपाल प्रहरी अस्पतालको योजना कोशे ढुङ्गा साबित हुन सक्ने देखिन्छ । वडा नं.४ मा नगर अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेको छ साथै वडा नं.२ मा सञ्चालनमा रहेको नगर अस्पतालमा पनि क्रमिक रूपमा सुधार तथा सेवा विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्