साङ्गीतिक कन्सर्टसँगै एभरेष्ट कार्निभल सम्पन्न


विराटनगर । भव्य साङ्गीतिक कन्सर्टसहित विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको तीन दिने कार्निभल सम्पन्न भएको छ । २७ गतेदेखि सुरु भएको कार्निभलको आज अन्तिम दिन गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटा, गायिका रचना रिमाल र लोक गायिका अन्जु गौतमसँगै एभरेष्टका विद्यार्थीहरूले विभिन्न प्रस्तुति राख्दै उपस्थित सबैलाई नचाएका थिए ।

‘माया रैछ र त भर रैछ नी’, ‘निरा जैले रिसाउने’ ‘इन्स्टाको फोटो’ ‘जुनी काट्छु भन्थ्यौँ नि म सँग’ ‘अजम्बरी लाउँला पिरती’ लगायतका आधा दर्जन बढी गीत गाएर उपस्थित विद्यार्थी अभिभावक शिक्षक तथा अतिथिहरूलाई भरपुर मनोरञ्जन दिलाउनुभएको थियो । गायक कालीप्रसादले गीत गाइरहँदा एभरेष्ट कलेजकी छात्रा सृष्मा काफ्लेसँगै ‘डोयड’ गाउँदा विद्यार्थी तथा अभिभावक निकै हौसिएका थिए । विद्यार्थी काफ्लेले आफूसँगै गाउने विद्यार्थीको प्रतिभा देखेर हर्षित भएको भन्दै पढाइका अतिरिक्त क्रियाकलापलाई महत्त्व दिने विद्यालयलाई नै रोज्नुपर्ने बताउनुभयो ।

यस्तै गायिका रचना रिमालले ‘फोटो फ्रेममा’ ‘उनको प्रीति’‘सुनन पियारी, भनन पियारा’‘चाहन्छु माया बढोस्’ ‘सम्झिने पानी छम्किने’लगायतका आधा दर्जन भन्दा बढी गीत गाउनुभयो । गायिका रिमालले स्टेजबाट ओर्लिएर दर्शक दीर्घामा रहेका विद्यार्थी र अभिभावकका बिचमा पुगेर गीत गाउँदा सबै हर्षित भएका थिए भने उहाँसँग धेरैले सेल्फी खिच्ने मौका समेत पाएका थिए । लोक गायिका अन्जु गौतमले पूर्वी लोकभाकाका गीत सङ्गीत पस्कँदै उपस्थितलाई मनोरञ्जन दिलाउनुभएको थियो । समारोहमा रमाइरहेका कक्षा १२ का विद्यार्थी प्रणम्य उप्रेतीले कार्निभलले मनोरञ्जनसँगै धेरै नयाँ कुरा सिक्ने सिकाउने अवसर प्रदान गरेको बताउनुभयो । यस्तै कक्षा १२ कै विद्यार्थी अनन्त देव र रिया कार्कीले कार्निभल निकै रमाइलो भएको भन्दै यसले आफू भित्र रहेका प्रतिभा देखाउने, तथा विद्यार्थीहरू भित्रका क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

यस्तै कक्षा ९ की विद्यार्थी पूर्णिमा विश्वास र कृषा कार्कीले मनोरञ्जनका साथै इनोभेसनहरूको प्रदर्शनीबाट धेरै कुरा सिक्न पाएको बताउनुभयो । तीन दिवसीय कार्निभलको अन्तिम दिन मात्रै सहभागी भएको बताउने अभिभावक लक्ष्मी कार्कीले भने यहाँ त कुनै एक्स्पो चलिरहेको जस्तो अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एकातिर कन्सर्ट चलिरहेको छ, अर्को तिर विभिन्न प्रदर्शनी भइरहेको छ । कोही खानामा व्यस्त छन्, कोही पुस्तक छान्ने र अवलोकनमा व्यस्त । ठ्याक्कै एस्पो जस्तै ।’

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रको योगदानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले यस्ता शैक्षिक संस्थाहरू बाह्य मुलुकका लागि पनि शैक्षिक गन्तव्य बन्न सक्नुपर्ने तर्क गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण भएका विद्यालयहरू विदेशका विद्यार्थीको रोजाइमा पर्ने वातावरणको सृजना गर्न आग्रह गर्नुभयो । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कार्निभलको अवलोकनबाट अभिभावकहरूले आफ्ना विद्यार्थीको क्षमता र ज्ञानलाई बुझ्ने अवसर प्रदान गरेको विश्वास व्यक्त गर्दै साङ्गीतिक कार्यक्रम भने विद्यार्थी, शिक्षक र कर्मचारीको मनोरञ्जनका लागि लक्षित गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा म्युजिकल इन्स्ट्रुमेन्ट बजार कौशलता प्रदर्शन गरेका थिए । यस्तै विराटनगरको टप डान्स स्टुडियो र डाइनामिक डान्स सेन्टरका कलाकारहरूले नृत्य प्रस्तुत गर्नुभएको छ। तीन दिने कार्निभल सम्पन्न भएसँगै भोलि एक दिनका लागि विद्यालय बिदा गरिएको प्रिन्सिपल पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्