सुन्दरहरैँचाको ११ औँ नगरसभामा ६ विधेयक प्रस्तुत : २ करोड १३ लाख १६ हजार अनुदान थपिने अनुमान


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाको एघारौँ नगरसभामा चालु आर्थिक वर्षमा २ करोड १३ लाख १६ हजार रुपैयाँ अनुदान थपिने अनुमान गरिएको छ साथै ४ वटा नयाँ विधेयक र २ वटा पुराना ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । आइतबार सुरु भएको एघारौँ हिउँदे अधिवेशनमा संशोधित बजेट प्रस्तुत गर्दै १ अर्ब ७६ करोड ५५ लाख ७२ हजार ११ रुपैयाँ वार्षिक आम्दानी हुने अनुमान बजेट उपप्रमुख अकली चौधरीले प्रस्तुत गरेकी हुन ।

यसअघि १ अर्ब ७४ करोड ४२ लाख ५६ हजार ११ रुपैयाँ वार्षिक आम्दानी हुने अनुमान गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८२ करोड ७५ लाख ४८ हजार १ सय ९६ रुपैयाँ ४४ पैसा आम्दानी भएको नगर उपप्रमुख अकली चौधरीले सभामा जानकारी गराइन । संघीय सरकारबाट प्राप्त हुने सशर्त चालु अनुदान ३२ करोड २ लाख ९४ हजार रुपैयाँ र १४ करोड ६२ लाख ५५ हजार रुपैयाँ सशर्त पुँजीगत अनुदान तथा प्रदेश सरकारबाट प्राप्त हुने ९४ लाख ५ हजार सशर्त चालु अनुदान बढ्ने अनुमान गरिएको छ ।

सभामा ६ वटा विधेयक नगर प्रवक्ता तथा वडा नं.का अध्यक्ष रोशनप्रसाद ढकालले प्रस्तुत गरेका हुन । ढकालले खेलकुदको विकास गर्न बनेको विधेयक २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक २०७९, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७९,सहकारी ऐन २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७९, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९, विद्यालय शिक्षा व्यवस्थापन गर्न बनेको ऐन २०७९ छलफलका लागि प्रस्तुत गरेका छन् ।

ढकाल विधान निर्माण समितिका सदस्य हुन । विधान निर्माण समितिका संयोजक वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, सदस्यहरूमा ढकालसहित वडा नं.४ का वडाध्यक्ष कैलाश बस्नेत, वडा नं. १० की महिला सदस्य तथा कार्यपालिका सदस्य बबिता खापुङ र कार्यपालिका सदस्य आनन्दकुमारी लिंखा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्