त्यस बेला मैले पहिलो पटक अनेरास्ववियुको झण्डा समाएँ


मिलन घिमिरे । विद्यालय तहमा कक्षा नौ मा पढ्दै थिएँ, एक समूह रातो पृष्ठभूमिमा कलम र तारा अङ्कित झण्डा लिएर कक्षा प्रवेश गरे । उनीहरू भन्दै थिए, यो अनेरास्ववियुको कार्यक्रम हो । तपाईँहरू मध्येका इमानदार, लगनशील, नैतिकवान्, प्रगतिशील, जनवादी र देशभक्त विद्यार्थीहरूको संगठन हो ।

यो मुलुकको राजनीतिक परिवर्तनको मूल प्रवाह, आन्दोलनको बाघ संगठन, नेताहरू उत्पादन गर्ने सबैभन्दा ठुलो कारखाना, विद्यार्थीको समस्यामा लड्ने देशको सबैभन्दा ठुलो विद्यार्थी संगठन यही अनेरास्ववियु हो । उनीहरू भन्दै थिएकी भूगोल सुहाउँदो शिक्षा चाहिन्छ, सैद्धान्तिक नभई व्यवहारिक शिक्षा प्रणाली हाम्रो आवश्यकता हो । शैक्षिक बेरोजगारी अब हुनुहुँदैन, हुनेखाने र हुँदा खाने बिचको खाडल पुरिनुपर्छ, समाजको भ्रष्टाचार रोक्नुपर्छ, अब तपाईँहरू जस्ता माध्यमिक शिक्षामा समावेश भई सकेका विद्यार्थीहरूले सामाजिक चासो राख्नुपर्छ । उनीहरू मध्यका एक प्रमुख वक्ता गम्भिरतापुर्वक भन्दै थिए, अनेरास्ववियुको झण्डा त्यसै रातो भएको होइन शैक्षिक स्वतन्त्रता प्राप्ति र देशको लोकतन्त्र स्थापनामा धेरै विद्यार्थी सहिदहरूको योगदान छ । राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य हुनुमा विद्यार्थीहरूको बलिदानी महत्त्वपूर्ण छ, यस्तै यस्तै । बिस्तारै समाजप्रतिको लगाव बढ्दै गएको ठिटो म । यी प्रगतिशील कुराहरूले मेरो मन जितिसकेको थियो ।

आफ्नो ज्ञान, प्रतिभा र क्षमतालाई समाजका अघि दर्साउँदै आफ्नो पहिचान निर्माण गर्न खोजिरहेको म किशोर विद्यार्थी अब समाजको नेता हुने र देश परिवर्तनको सङ्कल्प बिन्दुमा उभिएँ । अन्याय र विभेदको अन्त्य गरी समतामूलक समाजको खाका कोर्ने सपना देखेँ । बेरोजगारी समस्याले पढाई छोडी बाकसमा प्रमाणपत्र थाती राखेर बिदेसिएका दाजु दिदीहरूका विडम्बनाको बाँध थुनेर अवसरहरूका मूल फुटाउने सङ्कल्प राखेँ । रटान शिक्षाबाट पाएको सर्टिफिकेटलाई ज्ञानमा भन्दा सिपमा आधारित बनाउनुपर्छ भन्ने अठोटको पाइला अघि सारेँ । सधैँ एउटै मूल्यमा बुवाले धान बेचेर पढाएको सम्झिँदै किसानहरूका पिडालाई पोख्ने र अधिकारका लागी लड्ने अठोट गरेँ । अशिक्षाबाट भर्खर उठ्दै गरेको नेपाली समाजको धरातललाई ज्ञान र चेतनाको स्तरबाट उचाइ दिने चाहना राखेँ । अभाव र गरिबीबाट गुज्रेका, धुलो खेल्दै हुर्केका र स्कुल कहिल्यै नदेखेकाहरूलाई कलम र कापीको महत्त्व बुझाई स्कुल पुर्‍याउने पुल बन्छु भन्ने इच्छा पलायो ।

मजदुरीको पसिनाले पाएको मूल्य र त्यही पसिना माथि भएको थाहै नपाउने शोषणलाई रोक्न हात मुठ्ठी कस्ने निधो गरेँ । पैसाको अभावमा उपचारबाट थलिएका छिमेकीको पिडा देखेर बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागी म पनि जुट्छु भन्ने मनस्थिति बनाएँ । यस्तै धेरै थरी प्रगतिशील विषयको चाहनाले म जुरुक्क उठेँ, अनि भने म पनि अनेरास्ववियु बन्छु । म पनि तयार छु, तपाईँहरू जस्तै बन्न । मैले गरेको साहस र हिम्मत मेरो लागी थिएन, देश र जनताका लागी थियो । म जस्तै देशभरका विद्यार्थीहरूको हितका लागी थियो । गरिब र निमुखा, शोषण र अन्यायमा परेकाहरूका लागी थियो । मैले गरेका दुरुस्तै निर्णयहरू बिस्तारै जुरुक्क जुरुक्क उठ्दै थिए । एकपछि अर्को गर्दै कक्षा भरी अनेरास्ववियुका इँटाहरू थपिँदै थिए । हातहरू सबैका माथि, औँलाहरू दह्रो मुठी कसिदै थिए । अब म मात्र हैन, हामीहरू अनेरास्ववियु भएका थियौँ । सरासर अघि बढ्यौँ, लस्कर भएर निधारमा रातो टीका थाप्दै हातमा उही कलम र तारा भएको झण्डा बोक्यौँ । अनुशासनको शपथ लिएर मुठ्ठी हात भन्यौँ – कमरेड अभिवादन । त्यस बेला मैले पहिलो पटक अनेरास्ववियुको झण्डा समाएँ । समयको वेग बिस्तारै बदलियो ।

माध्यमिक तह सकेर क्याम्पस स्तरमा पुगियो । त्यति बेला सम्म अनेरास्ववियुमा हाम्रा पाइलाहरू धेरै अघि सरिसकेका थिए । विद्यार्थीको हक, हित र अधिकारका धेरै नाराहरू लगाइए, सङ्घर्षका कदमहरू रोकिएनन् । सृजनशीलताका मञ्चहरू, रचनात्मक अभ्यासहरू, देशमै गर्नुपर्छ भन्ने विचारका प्रवाह, सुविधाहरूको स्थापना, अनुशासन र अध्ययनशील वातावरणको निर्माण, सामाजिक चासो र जागरणका अभियान, सरकारलाई दबाबका प्रयास र आन्दोलन, शैक्षिक बहस र मागहरूमा उद्धत, राजनीतिक चेतना र असल संस्कारमा जोड, स्वरोजगार स्थापना लगायत यावत् धेरै पक्षहरूमा दबाब, अभियान र आन्दोलनहरू चलाइए । यस बेलासम्म मैले हिजोको म जस्तै आजका धेरै अनेरास्ववियुहरू बनाएँ, जन्माएँ । करिब बाह्र वर्षको अनेरास्ववियु यात्रामा मैले किताबबाट नसिकेका र शिक्षकबाट नबुझेका धेरै थरी शिक्षाहरू प्राप्त गरेँ ।

समाजलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरे, धेरै थरी सामाजिक समस्याहरू अनुभूति गरेँ । सामाजिकीकरण हुँदै साथीभाइ, सम्बन्ध र धेरै कमरेडहरू कमाएँ । राजनीतिक दल, यिनका अभ्यास र समस्याहरूलाई कोर्सका रूपमा पढेँ । राष्ट्रिय समस्याहरूको पहिचान, समाधानको विकल्प र योजनाहरूमाथि अध्ययन गरेँ, चिन्तन बनाए । परि आए समाज र देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास र हिम्मत बनाएँ । सामाजिक भूमिका र सामूहिक अभियानमा लागेँ । अझै धेरै यात्रा त बाँकी नै छ । मतलब अनेरास्ववियु हुनु र बन्नुमा मैले कहिल्यै नोक्सान बेहोरिन । मैले जवनिका धेरै थरी सिकाई, अभ्यास र अवसरहरू प्राप्त गरेँ ।

मैले अनेरास्ववियुका कयौँ गुणहरू प्राप्त गरेँ । म यसैमा सन्तुष्ट छु । हामी यसैमा सन्तुष्ट छौँ । त्यसैले त अनेरास्ववियु रह्यौँ । यति बेला सम्म मैले अनेरास्ववियुको झण्डा धेरै पटक समाएँ, धेरै पटक उठाएँ अनि धेरै पटक फहराएँ ।

( अनेरास्ववियुको फागुन २,३, र ४ गते काठमाडौँमा हुने २३ औँ राष्ट्रिय महाधिवेशन भव्यता र सफलताको शुभकामना राख्दै विद्यार्थी आन्दोलनका वीर सहिदहरू प्रति श्रद्धासुमन र अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछु )

मिलन घिमिरे

अनेरास्ववियु, प्रदेश न. १

प्रतिक्रिया दिनुहोस्