बेलबारीमा ‘तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी’ हुने


मोरङ । बेलबारीमा ‘तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी’ हुने भएको छ । धिमाल जातीय विकास केन्द्रले फागुन १३ गते शनिवार बेलबारीको वडा नं.३ स्थित ड्रिमल्याण्ड फन पार्कमा गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलनद्वारा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी बारे जानकारी गराएका हुन ।

“संस्कृति, मौलिकता र स्वास्थ्य खाना” भन्ने मूल नाराका साथ लोप हुन लागेको धिमाल जातीको खानाको परिकार तथा संस्कृतिको संरक्षणको लागि कार्यक्रम गर्न लागेको केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले जनाएका छन् । धिमाल जातीको प्रमुख पिए पदार्थ घाङ्सिङ लोपोन्मुख भएको उनले बताए । उनले भने, ‘जंगलमा पाउने हर्राको प्रयोग गरी बनाउनु पर्ने भएकोले हर्राको अभावसँगै घाङ्सिङ लोप हुन लागेको छ । यसको संरक्षण गर्नु पर्छ ।’ अध्यक्ष धिमालले कानेपोखरी, उर्लाबारी, पथरी शनिश्चरे, बेलबारी लगायतका पालिकामा धिमाल पहिलो जाती भएकोले स्थानीय सरकारले पनि तेस्रो चिचिरी, गेन्द्रो दिवसलाई महत्त्वका साथ हेर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा धिमाल जातीका मौलिक खाना चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा हाया लगायतका परिकारहरू स्टलमा राख्ने ‘तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी’ का संयोजक कृष्ण बहादुर धिमालले जनाएका छन् । संयोजक धिमालका अनुसार गोहोरोको मासु लोप नै भइसकेको छ । धिमाल जातीको प्रमुख खानाको परिकारमा पर्ने गोहोरोको सिकार सरकारले निषेध गरेसँगै गोहोरोको मासुको परिकार लोप भएको संयोजक धिमालले बताए ।

कार्यक्रममा मेचु धिमाल, गायकहरू डिकबहादुर धिमाल, सञ्जीव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार विक्रम धिमाल र सरस्वती धिमाल लगायतको प्रस्तुति रहने महासचिव मातृका धिमालले जनाएका छन् । उपाध्यक्ष केदार धिमालले ‘तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी’ मा धिमाल जातिको मौलिक खानाको साथै संस्कृतिको बारे अन्य समुदायले पनि जानकारी पाउने अवसर मिल्ने बताउँदै निमन्त्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्