प्रधानमन्त्री ओलीले बोलाए भारतको विवादित नयाँ नक्साबारे सर्वपक्षीय परामर्श बैठक


काठमाडौँ, २२ कात्तिक । भारतले सार्वजनिक गरेको विवादित नयाँ नक्सा बारे छलफलको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक गर्दै छन् । प्रधानमन्त्री ओलीले सर्वपक्षीय परामर्श बैठक शनिवार बोलाएका हुन ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई राखेको छ । भारतको यस्तो कार्यलाई नेपाली जनताले देश व्यापी रूपमा विरोध गरी रहेका छन् ।

सरकारले भारतको यो कार्य प्रति गम्भीर आपत्ति जनाउँदै एकपक्षीय नक्सा मान्य नहुने बताएको छ । तर भारतले भने आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र विगतकै नक्सा रहेको बताइ रहेको छ ।

प्रधानमन्त्रीले ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय र विज्ञहरूको परामर्शबाट समान धारणा बनाउन बैठक बोलाएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार बैठकमा पूर्व प्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्र मन्त्रीहरूका साथै सीमा विज्ञहरू, राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्