स्व.लेखनाथ चौहानको सम्झनामा र्‍याली प्रदर्शनी : शैक्षिक क्षेत्रमा ट्राफिक नियम कडाइ गर्न विद्यार्थीको माग


बेलबारी । बेलबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले स्व.लेखनाथ चौहानको सम्झनामा र्‍याली प्रदर्शनी गरेका छन् । मङ्गलवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बेलबारी वडा नं.३ को सुन्दर टोला अवस्थित बेलबारी बहुमुखी क्याम्पसदेखि चौहान दुर्घटनामा परेको घटना स्थल सम्म र्‍याली प्रदर्शनी गरेका हुन ।

विद्यार्थीहरूले र्‍यालीमा चौहानको न्यायको माग गरेका छन् । र्‍यालीमा ‘हाम्रो साथी खै कहाँ छ’ भनेर लेखिएका कागज र नारा लगाउँदै प्रश्न पनि गरेका थिए । विद्यार्थीहरूले भावपूर्ण श्रद्धाञ्जली स्व.लेखनाथ चौहान लेखिएको फोटो सहितको ब्यानर साथै ‘द्रुत हाँक्न बन्द गर’, ‘पैदल यात्रीको पनि त सडक हो’, ‘हतार नगरे के हुने ?’, ट्राफिक नियम पालना गर, निन्द्रामा थियौ ड्राइभर दाइ ?, आत्माले शान्ति पाओस्, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दे, आत्माले शान्ति पाओस्, विद्यार्थी मार्न पाइँदैन, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा र्‍यालीमा र कोणसभामा गुञ्जायमान गरे ।

साइकलमा यात्रा गरिरहेको बेला वडा नं.३ र १ मा पर्ने पूर्वपश्चिम लोक मार्ग मालपोत जाने बाटो छेउमा ना ५ ख ६९४२ नम्बरको बसको ठक्करबाट चौहानको मृत्यु भएको थियो । बेलबारी २ निवासी चौहान बेलबारी बहुमुखी क्याम्पसको वि.वि.यस प्रथम वर्षमा अध्ययनरत थिए । बस र सवारी चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छ भने चालकलाई सवारी ज्यान मुत्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका सचिव मिलन घिमिरेले कोणसभालाई सम्बोधन गर्दै उपरान्त कुनै पनि विद्यार्थी सडक दुर्घटनामा गुमाउनु परे सडकमै सवारी चालकको लागि आँखा शिविर सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन् । सडकमा सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै, नियमबारे जानकारी बोर्ड राख्न समेत ट्राफिकलाई घिमिरेले सुझाव दिएका छन् । उनले शैक्षिक क्षेत्रमा बढी सावधानी हुन सवारी चालकहरूलाई आग्रह गरेका छन् ।

नेकपा एमाले नगर कमिटी सदस्य तथा विद्यार्थी विभाग प्रमुख शीतल रायले चौहान ज्यान ५ लाखको नभएको बताउँदै उचित न्यायको माग राखेकी छिन । रायले भनिन, ‘५ लाखको क्षतिपूर्तिले चौहान तथा उनको परिवारलाई न्याय हुन सक्दैन । चालकको कुनै पनि किसिमको लापरबाही भए कडा भन्दा कडा सजाय दिनु पर्छ ।’ ट्राफिक नियम पालना नगर्ने जो कोहीलाई कडाइ पूर्व कानुनी कारबाही गर्न रायले आग्रह गरेकी छिन ।

अनेरास्ववियु मोरङको सचिवालय सदस्य विप्लव पोखरेलले कुनै पनि विद्यार्थी सवारी साधनको ठक्करबाट मृत्यु भए कलम बोक्ने हातले मसाल बोक्न बाध्य हुने बताएका छन् । अनुशासित विद्यार्थी अनुशासनको परिँदी नाग्न बाध्य नबनाउन पोखरेलले आग्रह गरेका छन् । उनले भने, ‘शान्ति पूर्ण र्‍यालीबाट सावधानी गराएका छौ, विद्यार्थीलाई मार्न पाइँदैन, अनुशासन भङ्ग गर्न बाध्य नबनाउनुहोस्, चालकले सवारी साधन ट्राफिक नियम पालना गरेर चलाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्