प्रदेश १ को नाम “कोशी” बहुमतले पारित : ८२ सांसदद्वारा मतदान


मोरङ । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए ।

नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली काँग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी भने प्रस्तावको विपक्षमा थिए ।

कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

प्रदेश सभा सचिवालयले प्रस्ताव दर्ताका लागि दिएको १२ बजेदेखि १ बजेसम्मको समयमा एमालेको प्रस्ताव सांसद रामबहादुर राना मगरले कोशी नाम राख्न प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा एमालेका सांसदहरू निरन राई र विदुर लिङथेप र काँग्रेसका भूमिप्रसाद राजवंशीले समर्थन गरेका थिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा टुङ्गो लाग्न नसकेको प्रदेश १ को नाम दोस्रो प्रदेशसभाको पहिलो अधिवेशनले नै टुङ्ग्याएको छ । दोस्रो कार्यकालको औपचारिक सुरुआत भएको ६२ औँ दिनमा बुधवार प्रदेश १ ले ’कोशी’ नाम पाएको हो । यसअघि प्रदेशमा तीन जना मुख्यमन्त्रीले नामकरणका लागि पहल गरे पनि सफल हुन सकेका थिएनन् ।

यसअघि एमालेका शेरधन राई, भीम आचार्य र एसका राजेन्द्र राई मुख्यमन्त्री हुँदा नामकरण सम्भव भएको थिएन । तर चौथो मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पालामा प्रदेशले नाम पाएपछि नाम राख्ने श्रेय उनलाई गएको छ । मुख्य मन्त्री भएको दुई महिना नपुग्दै मुख्यमन्त्री कार्कीले नामकरण गर्नमा सफलता प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्