प्रथम वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न : खुल्ला पुरुष तर्फ ज्योतीहाङ राई र नीरज नेपालको जोडि प्रथम


बेलबारी २८ फागुन । मोरङ बेलबारीमा सम्पन्न प्रथम वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७९ को तीन उपाधि मध्ये खुल्ला पुरुष तर्फ ज्योतीहाङ राई र नीरज नेपालको जोडिले प्रथम उपाधि हात पारेको छ । आइतबार बेलबारी १ स्थित इन्द्रेणी स्पोर्ट्स एन्ड लञ्जको हलमा भएको फाइनल खेलमा खुल्ला पुरुष तर्फ बेलबारी नगरपालिका वडा नं ३ का ज्योतीहाङ राई र नीरज नेपालको जोडी, भेट्रान्स तर्फ वडा नं २ का शिव रुपाखेती र सुवास लिम्बुको जोडी र महिला तर्फ वडा नं ३ का सीमा श्रेष्ठ र लता घिमिरेको जोडिले पहिलो उपाधि हात पारेको हो ।

खुल्ला पुरुष तर्फको पहिलो राउन्डमा विकास श्रेष्ठको जोडिलाई ज्योतीहाङको जोडिले १५ को विरुद्ध २१ ले पराजित गरेको थियो भने दोस्रो राउन्डमा ज्योतीहाङको जोडिलाई १६ को विरुद्ध २१ ले र तेस्रो राउन्डमा विकास श्रेष्ठको जोडिलाई ज्योतीहाङ को जोडिले ११ को विरुद्ध २१ ले पराजित गरी उपाधि चुम्न सफल भएको हो ।

दोस्रो हुनेमा खुल्ला पुरुष तर्फ वडा नं ३ का विकास श्रेष्ठ र सुवास श्रेष्ठको जोडी रहेको छ भने भेट्रान तर्फ वडा नं १० का पदम धिमाल र कमल गुरुङको जोडी रहेको छ । महिला तर्फ वडा नं २ की प्रकृति राई र शान्ता राई को जोडिले दोस्रो उपाधि हात पार्न सफल भएका छन् । त्यस्तै तेस्रो खुल्ला तर्फ वडा नं ११ का मीलन राई र अर्जित राईको जोडी र वडा न ३ का संदिप राई र रमेश राईको जोडी रहेको छ भने भेट्रान तर्फ वडा नं १ का कमल श्रेष्ठ र चन्द्रप्रकाश बस्नेत रहेका छन् । महिला तर्फ वडा नं ३ का तुलसा लिम्बु र सविता राईको जोडी रहेका छन् ।

प्रतियोगितामा तिनै समूहका प्रथम हुने खेलाडीहरूलाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ७ हजार ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई नगद ५ हजार ट्रफी, मेडल र प्रमाणपत्र वडा नं १ का वडाध्यक्ष मणि पुलामी मगर र खेलका अध्यक्ष जेबी गुँरागाईले संयुक्त रूपमा प्रदान गरे । फागुन २६ गते देखी चलेको प्रतियोगितामा खुल्ला पुरुष तर्फ १६ वटा टिमहरूले भाग लिएका थिए भने भेट्रान तर्फ ७ वटा र महिला तर्फ ३ वटा टिमहरूले भाग लिएका थिए ।

बेलबारी नगरपालिकाको मुख्य सहयोग र बेलबारी ब्याडमिन्टन क्लबको आयोजनामा भएको यस प्रतियोगिताको प्रमुख अतिथि नगरका नगरप्रमुख दिप्रसाद राई रहेको थिए । राईले खेलकुदले युवाहरूको अनुशासन र आत्मविश्वास वृद्धि गर्ने भएकोले नगरले यसलाई प्रोत्साहन गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्