संयुक्त हाइकु सङ्ग्रह सम्बन्ध सूत्र लोकार्पण तथा हाइकु वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)


मोरङ, २३ कात्तिक / बेलबारीमा सम्बन्ध सूत्र संयुक्त हाइकु सङ्ग्रह लोकार्पण तथा प्रतिनिधि हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार पूर्वाञ्चल हाइकु सङ्घ समितिको आयोजनामा बेलबारी नगरपालिका कार्यालयको नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले हाइकु वाचन गरेर गरेका थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर सुवेदीले साहित्य क्षेत्रको विकासको लागि नगरपालिकाको सधैँ सहयोग रहेको र रहने बताएका छन् । साहित्य क्षेत्रका विज्ञहरूले बेलबारीमा साहित्य विकासको लागि के गर्नु पर्छ सल्लाह सुझाव प्रदान गर्न पनि मेयर सुवेदीले आग्रह गरेका छन् ।

कार्यक्रममा रुपन्देही, काठमाडौँ, भक्तपुर, भोजपुर, सुनसरी, मोरङ र झापाबाट स्रष्टाहरूको सहभागिता रहेको थियो । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमला, कवि वैजयन्ती मिश्र, वरिष्ठ गजलकार मधु पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्ध सूत्र कृतिमा नेपाल भारीका १ सय ६० जना स्रष्टाहरूको रचनालाई समेटिएको छ भने १ हजार ५ सय ७२ वटा हाइकु रहेको छ । सम्बन्ध सूत्रको सम्पादक समूहमा तिला लेकाली, ईरान राई, हेमसागर पोखरेल, इन्द्रसुर बेल्टारे, विष्णु न्यौपाने, दीपक सुवेदी र बिन्दु दाहाल ‘मूकदर्शक’ रहेका छन् ।

सम्बन्ध सूत्र संयुक्त हाइकु सङ्ग्रह लोकार्पण तथा प्रतिनिधि हाइकु वाचन कार्यक्रम पूर्वाञ्चल हाइकु सङ्घ समितिका अध्यक्ष तिला लेकालीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्रष्टाहरूले हाइकु वाचन गर्नुको साथै हाइकुबारे विचार राख्दै शुभकामना प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्