उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित


काठमाडौं । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी भर्खरै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका यादवले स्नातकसम्मको अध्ययन गरेका छन् । यादवकी श्रीमती चम्पादेवी यादव, दुई छोरा र एक छोरी छन् । उनका पिता प्रसाद राय र आमा सहवा देवीको मृत्यु भइसकेको छ । विक्रम सम्बत् २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका रामसहायको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट भएको थियो ।

उनी २०४६ देखि २०५२ सालसम्म सरस्वती नव युवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भए । नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रूपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परेका थिए । २०५९ सालमा मधेसी जनअधिकार फोरम नेपालमा आबद्ध उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने ।

२०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भए । आन्दोलनका क्रममा उनी काठमाडौँबाट गिरफ्तारीमा परे । २०६२/०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरे ।

२०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रूपमा काम गरे । २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बनेका थिए ।

२०७२ सालमा मधेस आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाइते भएका उनी वि.सं. २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । विसं २०७५ सालमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, वि.सं. २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बिच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बने । २०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्