प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक विश्वासको मत पाएका छन् । आज (सोमबार) भएको मतदानमा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको हो ।

मतदान प्रक्रियामा २६२ सांसदको उपस्थित थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । त्यस बेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए । प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले काँग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन् । एमालेलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली काँग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थन रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्