स्वर्णलक्ष्मी सहकारीद्वारा सदस्य शिक्षा अन्तरक्रिया र आँखा शिविर सञ्चालन


उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको उर्लाबारी सेवा केन्द्रले बुधवार सदस्य शिक्षा अन्तरक्रिया र आँखा शिविर सञ्चालन गरेको छ । उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा व्यवस्थापक कमलकुमार घिमिरेले संस्थाको इतिहास समेटिएको शब्द चित्र प्रस्तुत गर्दै हालसम्म गरेको कामहरू, संस्थाको वित्तीय अवस्था, सदस्यहरू बिच जारी गरेको विभिन्न योजना, आगामी कार्य योजना, संस्थामा सदस्यहरूको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरूका बारेमा जानकारी दिइएको थियो ।

बचत योजनामा सहभागी हुने सदस्य र सदस्यको परिवारले जन्मदेखि मृत्युसम्म प्राप्त गर्ने सेवाहरूका बारेमा पनि घिमिरेले अवगत गराएका थिए । सहकारीका सञ्चालक समिति अध्यक्ष बुद्धिसागर बराल विमलले संस्थामा आबद्ध सदस्यलाई समृद्ध बनाउने योजनाका साथ स्वर्णलक्ष्मी सहकारी अघि बढेको उल्लेख गरे । शेयर सदस्यहरूको सुख दुःखको क्षणमा जीवन सहाराको काम गर्दै संस्था र सदस्य बिचको सम्बन्ध प्रगाढ तथा पारदर्शी बनाउने अभियानमा संस्था रहेको समेत बरालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी –६ का वडाध्यक्ष चिन्तामणि पौडेलले स्वर्णलक्ष्मी सहकारीले शेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवम् सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तरताको अपेक्षा गरे । कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले राधिका मावि उर्लाबारी – ६ का २५ जना विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । उनीहरूलाई जनही स्कुल ब्याग उपलब्ध गराइएको हो । यस्तै, संस्थाले आयोजना गरेको नि:शुल्क आँखा शिविरबाट शेयर सदस्य र स्थानीय लाभान्वित बनेका छन् । बिर्ताज्योति आँखा अस्पताल दमकको प्राविधिक सहयोग रहेको शिविरमा विशेषज्ञ चिकित्सकहरूले आँखाको चेकजाँच गरेका थिए । झापाकै अग्रणीभित्र पर्ने स्वर्णलक्ष्मी सहकारीले दमकका अलावा उर्लाबारी, झिलझिले, सुरुगां र गौरादहबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्