गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व सरकारले लिने


काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व सरकार आफैले लिने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले रङ्गशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले धुर्मुस–सुन्तली फाउन्डेसने निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रङ्गशाला बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट लिग डिभिजन दुई खेल्दै विश्वकप छनोटमा पुगेका बेला एउटा राम्रो रङ्गशाला नभएको भन्दै चर्को आलोचना भएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनले १७ करोड बढी खर्च भएको भन्दै त्यसको स्वामित्व लिएर निर्माण अघि बढाउन सरकारलाई आग्रह गरिरहेको थियो ।

यसै क्रममा आज (सोमबार) को मन्त्रिपरिषद्ले रङ्गशालाको सबै स्वामित्व लिँदै निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय लिएको हो । यसअघि सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत यो रङ्गशाला आफैँ बनाउने उल्लेख थियो । तर बजेट व्यवस्थापन हुन सकेको थिएन ।

सरकारको यो निर्णयपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि अथक प्रयासले सार्थकता पाउन लागेको बताएकी छन् । ‘अथक प्रयासपश्चात् हामी सबैको सपना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने कार्य पूरा हुँदै’, उनले सोमबार साँझ भनेकी छन्, ‘चितवनवासीलगायत सम्पूर्ण खेलाडीहरूमा बधाई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई हार्दिक धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्