गोल्डेन फ्युचरको सातौँ साधारणसभा सम्पन्न : बेलबारी २ को ३ सहकारी मर्जर हुने


बेलबारी, मोरङ / गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी बेलबारी मोरङको ७ औँ साधारणसभा सम्पन्न भएको छ । शनिवार बेलबारी २ स्थित शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानको सभाहलमा साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिका वाड नं २ का अध्यक्ष घनश्याम गौतमले गरेका थिए । एउटै प्रकृतिका सहकारीहरूलाई मर्जरको लागि आग्रह गर्दै गोल्डेन फ्युचर बचत तथा ऋण सहकारीले सातौँ साधारणसभा सम्पन्न गरेको छ ।

बेलबारी २ मा रहेका तीनवटा सहकारीहरूबिच मर्जरमा जाने सहमतिका साथ अघि बढेको यस संस्थाले पेन्सन दिने उद्देश्यकासाथ भविष्य बचतजस्ता सेयर सदस्यलाई लाभ हुनेखालका बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बेलबारी नगरकार्यपालिका सदस्य खिना थापा, वार्ड सदस्य कृष्ण लिम्बू, बेलबारी बहुउद्देश्यीय अध्यक्ष प्रताप थापा, शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्री, बागदेवी सामुदायिक वनका अध्यक्ष फणीन्द्रबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिका वाड नं २ का अध्यक्ष घनश्याम गौतमले एउटै उद्देश्य लिएका सबै सहकारीहरूलाई मर्जरको प्रक्रियाबाट अगाडि बढ्न आग्रह गरे ।

सचिव पुष्पराज भण्डारीले कार्यसमितिले तयार पारेको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शिवकुमार रुपाखेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा वर्षभरि उत्कृष्ट रूपमा कारोबार गर्ने असल कारोबारी तथा असल ऋणी लगायत विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

अध्यक्ष लक्ष्मणजङ्ग थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव पुष्पराज भण्डारीले गरेका थिए ।

https://youtu.be/CCM-WqDADAc

प्रतिक्रिया दिनुहोस्